सुनको मूल्य हालसम्मकै उच्च कायम, एकैदिन प्रतितोला ४ हजार रुपैयाँले बढ्यो

Share:
GOld silver

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य आज प्रतितोला ४ हजार रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो। नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यसअघि सुनको मूल्य गत फागुन १३ गते हालसम्मकै उच्च कायम भएको थियो। त्यसबेला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ कायम भएको थियो। गत बुधबार भने सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेसँगै घरेलु बजारमा समेत त्यसको प्रभाव देखिएको हो। अमेरिकाले विभिन्न देशहरुलाई ट्यारिफ लगाएसँगै अन्य देशहरुले समेत अमेरिकाविरुद्ध ट्यारिफको घोषणा गरिरहेका छन्।

जसले कारण विश्व व्यापार युद्ध निम्तिने जोखिम बढाएको छ । सुनलाई राजनीतिक र आर्थिक संकटका बेला सुरक्षित लगानीको रुपमा लिइने गरिन्छ ।

लगानीकर्ताले बढ्दो अनिश्चितताका कारण सुनमा लगानी बढाएका छन्। आपूर्तिको तुलनामा माग बढेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकाशिएको विश्लेषकहरुले बताएका छन्। आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ५० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएको छ।

कमेन्ट गर्नुहोस्
Share: