कुलमान राजनीतिमा आउने संकेत, तानातानमा पर्न सक्छन् उनी

Share:

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त गरेपछि निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी चुनावमा उठ्ने संकेत दिएका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमा पत्रकारको जवाफ दिँदै घिसिङले यस्तो संकेत गरेका हुन्। बिहीबार मात्रै सर्वोच्च अदालतले आफ्नो रिटमा अन्तरिम आदेश नदिएर हितेन्द्रदेव शाक्यलाई नै निरन्तरता दिने निर्णय गरेपछि कुलमानले पत्रकार सम्मेलन गरेका हुन्।

‘म एउटा जिम्मेबार नागरिक हो, अब म कर्मचारी रहिनँ, सदैव देशको हित र समृद्धिका लागि जुनसुकै जिम्मेवारी लिन तयार छु’, उनले भने।

२०७९ को चुनावमा पनि उनलाई नेकपा माओवादी केन्द्रले काठमाडौंमा टिकट दिन चाहेको थियो। तर, कुलमानले त्यसबेला प्राधिकरण छाडेर माओवादीबाट चुनाव नउठ्ने अडान लिए।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका उनी तत्काल प्राधिकरण फर्कने बाटो बन्द भएसँगै अब उनी के गर्लान् भन्नेबारे सर्वत्र चासो छ। कुलमानले राजनीति गर्लान् कि नगर्लान् ? कुनै पार्टीमा सामेल हुन्छन् कि स्वतन्त्र (बालेन र हर्ककै शैली) भएर अघि बढ्लान् भन्नेबारे चासो बढेको छ ।

धेरै नागरिकको मन जित्न सफल भएका कुलमान राजनीतिमा प्रवेश गरे जुनसुकै पार्टी उनको स्वागत गर्न तयार देखिन्छन्। अहिले नै कुलमानबारे पार्टी र तिनका नेताहरूले सार्वजनिक रूपमा मुख नखोले पनि माओवादी, रास्वपादेखि कांग्रेस लगायतका दल उनलाई पार्टीमा भित्र्याउन चाहन्छन्। यसको संकेत रास्वपाकी नेतृ ज्वाला संग्रौलाले शुक्रबार पार्टी सभापति रवि लामिछाने र कुलमानको तस्बिर सार्वजनिक गरेरै दिइसकेकी छन्।

अहिलेसम्म आफ्नो राजनीतिक लाइन ‘क्लियर’ नगरेका कुलमानले कुन दल रोज्लान् भन्नेबारे उठिरहेका जिज्ञासालाई निराकरण गर्न बाँकी छ। स्थानीय तह निर्वाचनमा बालेन शाह, हर्क साम्पाङ लगायतले हासिल गरेको सफलता हेर्ने हो भने राजनीतिमा कुनै दलको सहारा नभए पनि जनताको रोजाइमा पर्न सकिन्छ भन्ने उदाहरण स्थापित भएको छ। कुलमानका सामु यो विकल्प पनि छ। त्यसैले उनको राजनीतिक जीवन कता जोडिन्छ र कसरी अघि बढ्छ भन्नेबारे जान्न केही समय कुर्नैपर्ने देखिन्छ।

कमेन्ट गर्नुहोस्
Share: