पोखरा सभागृहमा एकल साँझमा गुञ्जिए पुरुषोत्तम न्यौपाने

Share:

पोखरा। पोखरा सभागृहमा लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेका गीत गुञ्जिएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’ मा न्यौपानेका साढे दर्जन गीत सुनाएका हुन्।

सांगीतिक साँझमा न्यौपानेले सररर पानीघट्टामा, ऐना हेरेर, रुन्छ नि मन किन रुँदैन सहितका १८ गीत गाए। कार्यक्रममा उनको जीवनीमा तयार पारिएको वृत्तचित्रुम्त प्रस्तुत गरिएको थियो। योसँगै उनलाई प्रतिष्ठानले सम्मान गर्‍यो।

२०२९ सालमा स्याङ्जामा जन्मिएका न्यौपाने नेपाली लोक दोहोरी क्षेत्रमा एउटा गर्विलो इतिहास कोर्न सफल भएका छन्। झण्डै साढे तीन दशकदेखि निरन्तर नेपाली लोकसंगीतमा रहेका न्यौपानका हजारभन्दा बढी गीत रेकर्डिङ छन्। पुरुषोत्तमले २०४६ सालमा बलाम देबीथान बोलको गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका थिए।

वार्षिक कार्यक्रम अन्तर्गत अग्रज कलाकारका सम्मान र लोक कला संरक्षण गर्ने उद्देश्यले उक्त सांगीतिक साँझ आयोजना गरिएको प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले जानकारी दिइन्। प्रतिष्ठानले गत वर्ष ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ आयोजना गरेको थियो। बर्सेनी एक प्रतिष्ठित लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने प्रतिष्ठानको योजना छ।

कार्यक्रममा नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गीत, कला, साहित्यको माध्यमबाट समाजलाई सभ्य बनाउन सकियो भनेमात्रै मानिस सुखी हुने बताए। उनले सुखी समाज, समृद्धि समाज बनाउनका लागि लोकगीतको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ।

स्वदेशका प्रायः सबै जिल्लादेखि थुप्रै विदेशका भूमिमा समेत पुगेर दर्शकलाई मन्त्रमुग्ध पारिसकेका न्यौपानेले थुप्रै सम्मान, पुरस्कार र अवार्ड जितिसकेका छन्। उनले लोकगीतमा लगातार तीन पटक म्युजिक नेपाल अवार्ड पनि हात पारेका थिए। प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका न्यौपाने अहिले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा कार्यक्रम अधिकृतको रुपमा कार्यरत छन्।

लोक संगीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले विस २०५८ सालमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल लोकगीत, संगीत र लोककलाको क्षेत्रमा क्रियाशील हुँदै आएको छ। अहिले प्रतिष्ठानको ७ प्रदेश समिति, १ काठमाडौं उपत्यका समन्वय समिति, ७७ जिल्ला स्तरीय समिति तथा १० देशमा आफ्ना शाखा समिति छन्।

कमेन्ट गर्नुहोस्
Share: