अहिले नै गिरफ्तारी दिँदैछु: रवि लामिछानेले

Share:

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशको सम्मान गर्दै आफूले आजै गिरफ्तारी दिन लागेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले गिरफ्तारी दिन लागेको बताएका हुन्।

यद्यपि उनले आफूमाथि ठुलो अन्याय भएको गुनासो गरेका छन्। ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु। साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। म माथि ठुलो अन्याय भएको छ’, उनले भनेका छन्।

यसअघि शुक्रबार नै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराधसम्बन्धी मुद्दामा धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश उल्ट्याएको हो।

लामिछानेले एक करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्नुपर्ने भन्दै फागुन २६ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए। यसैगरी सरकारी वकिलको कार्यालयले फागुन १ मै लामिछानेलाई एक करोड धरौटीसहित तारेखमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: