
काठमाडौँ । सरकारले आगामी वैशाख ५ गतेभित्र नेपालमा दर्ता नहुने सामाजिक सञ्जाल बन्द गर्ने तयारी थालेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तोकिएको समयसीमाभित्र दर्ता नभए मेटासहितका अन्य सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द हुने जानकारी दिएका हुन् ।
शुक्रबार रुपन्देहीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा दर्ता नहुने सामाजिक सञ्जालहरू केही दिनमा बन्द हुने बताए ।
सामाजिक सञ्जाल प्लेटफर्महरू नियमन गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै उनले दर्ता नभएका प्लेटफर्महरूका कारण समाजमा हत्या, हिंसा, ठगी, लुटपाट र अनियमितता बढेको तर्क गरे । उनले यस्ता गतिविधि नियन्त्रण गर्न दर्ता अनिवार्य गरिएको बताए ।
सरकारले २०८० सालमै ल्याएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका अनुसार सामाजिक सञ्जालहरू नेपालमा अनिवार्य दर्ता हुनुपर्छ । गत चैत ७ गते तेस्रो पटक सूचना जारी गर्दै सरकारले ३० दिनभित्र दर्ता हुन निर्देशन दिएको थियो । हालसम्म नेपालमा टिकटक, भाइबर, एसएआरएल र सारांश मिडिया ल्याब मात्र दर्ता भएका छन् भने फेसबुक, इन्स्टाग्राम, युट्युब जस्ता ठुला प्लेटफर्महरू अझै दर्ता हुन आएका छैनन् ।
