कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री ओलीले दिए निर्देशन, अब परीक्षा सारिने

Share:

काठमाडौँ। कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई परीक्षा केही दिन पर सार्न प्रधानमन्त्रीले आग्रह गरेको उनको सचिवालयले जानकारी दियो।

शिक्षा सचिव काफ्लेले प्रधानमन्त्रीलाई भेटेर फर्किएको र बोर्डको बैठक बसेर परीक्षाको विषयमा निर्णय लिने बताए। बोर्डको बैठकले वैशाख ११ देखि तय भएको परीक्षा स्थगित गर्ने सम्भावना रहेको छ।

चैत २० देखि शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन जारी राखेकै अवस्थामा शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएपछि परीक्षा अन्योलमा परेको थियो।

२१ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले शिक्षक, कर्मचारीलाई परीक्षामा सहभागी नहुन अपिल गर्दै आएको छ।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरिसकेको थियो र सम्पूर्ण तयारी पनि तीव्र गतिमा भइरहेको थियो। तर परिस्थिति गम्भीर बनेको निष्कर्षसहित प्रधानमन्त्रीको निर्देशनपछि परीक्षा सारिने भएको हो।

कमेन्ट गर्नुहोस्
Share: