
पोखरा । कास्कीको मादी गाउँपालिका- ३ र ४ का ३७२ घरधुरी बासिन्दालाई लक्षित गरी निर्माण हुँदै गरेको थुमाको डाडा खानेपानी आयोजनाको निर्माण प्रगतिको बारेमा जिल्ला समन्वय समिति कास्कीले बिहीबार समन्वय बैठक समपन्न गरेको छ।
आयोजनाका सम्बन्धमा देखिएका ढिला सुस्ती र समयमा सम्पन्न गर्न देखिएका विवाद समाधान गर्न उक्त बैठक आयोजना गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताए।
उनका अनुसार ४ करोड ६१ लाख १० हजार ८ सय २८ रुपैयाँमा सम्झौता भएको सो खानेपानी आयोजनाको ६६ प्रतिशत वित्तीय र ७५ प्रतिशत भौतिक प्रगति भएको भन्दै पौडेलले जति सक्दो आयोजना निर्धारित समयमा सम्पन्न गर्ने गरी कार्यतालिका बनाउनुको विकल्प नभएको उल्लेख गरे।
पौडेलले कतिपय विकास आयोजना स्थानीय राजनितिक कारणले अवरुद्ध हुने गरेका केही उदाहरण भएको भन्दै विकास निर्माण प्रभावित हुने कुनै पनि किसिमका कानुन विपरीतका काम सह्य नहुने तत्काल समस्या समाधानको उपाय खोज्न सम्बन्धित सरकारी कार्यालय स्थानीय जनप्रतिनिधि र उपभोक्ता समिति सहित स्थानिय बासिन्दालाई आग्रह गरे।
यसैगरी जिल्ला समन्वय समिति कास्कीका सदस्य राजु अधिकारीले निर्माण कार्यको क्रममा ट्रान्समिसन पाइपलाइनको काम गर्ने क्रममा चालू आर्थिक वर्षमा मर्के भन्ने ठाँउमा स्थानीयबिच विवाद हुँदा सम्पूर्ण निर्माण कार्य नै प्रभावित भएको भन्ने जानकारी आए लगत्तै समस्या समाधानका लागि सो बैठक आयोजना गरिएको समेत जानकारी दिए।
बैठकमा जिल्ला समन्वय समितिसहित स्थानीय उपभोक्ता समिति ,निर्माण व्यवसायी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नेपाल सरकारको विशेष कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ को २०७७ असार २१ गते कार्यदेश प्राप्त गरि मिति २०८२ असार ३० मा निर्माण सम्पन्न हुनुपर्ने सो आयोजना भिमेश्वर संरक्षण-कृपा जे.भि भरतपुर चितवनले निर्माण कार्य गरिरहेको छ।


