
बिहीबार साँझपख सामाजिक सञ्जाल अन्धकार सहरका तस्बिरले ढाकिए। लामो समयको अन्तरालपछि धेरैबेर विद्युत आपूर्ति ठप्प भएको भन्दै सर्वसाधारणले सञ्जालमा विद्युत प्राधिकरणप्रति आक्रोश समेत पोखिरहेका छन्। देशैभरि छिनछिनमै आउने-जाने भइरहेको बिजुलीले काठमाडौं, ललितपुर, भक्तपुरसहित धेरैतिर जनजीवन प्रभावित भएको छ। ललितपुर क्षेत्रमा त झण्डै एक घन्टासम्म लगातार विद्युत आपूर्ति अवरूद्ध हुन पुगेको छ। पूर्वका पनि विराटनगर, झापा, धरान, इटहरी क्षेत्रमा झ्याप्प-झ्याप्प विद्युत आउनेजाने भइरहेको छ।
विद्युत वितरण प्रसारणमा यस्तो समस्या देखिएपछि विद्युत प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रणाली सञ्चालन विभाग स्विचाटारको निरीक्षण गरेका छन्। प्रणालीमा समस्या देखिएपछि कार्यकारी निर्देशक शाक्यले आकस्मिक अवलोकन गरेका हुन्।
विभागमा प्रत्यक्ष रूपमा बसेर उनले ढल्केबर गृड महाशाखाका प्रमुख विनोद लोहनीलाई निर्देशन दिई समस्या समाधानका लागि अग्रसरता लिएका छन्। प्राधिकरणले यस्तो समस्या देशैभरि देखापरेको जानकारी दिएको छ।
देशका धेरैजसो क्षेत्रमा यस्तो समस्या भएको सर्वसाधारणले सामाजिक सन्जालमार्फत गुनासो प्रकट गरेपछि सेतोपाटीले प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारलाई यसको कारणबारे सोधेको छ। उनले भारतमा उत्पन्न समस्याले यस्तो अवस्था आएको बताए। भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर मुजफरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा पटकपटक विद्युत अवरुद्ध भइरहेको छ।
