पोखरामा तरबुजा खेतीप्रति आकर्षण बढ्दै, आइपिएम कृषक पाठशाला प्रभावकारी बन्दै

Share:

पोखरा । पोखरा महानगरपालिकाको सहयोगमा पोखरा महानगरपालिका वडा नं १३ र १४ का कृषकलाई लक्षित गरी कुँडहरमा तरबुजा खेतीमा गरिएको एकीकृत शत्रुजीव व्यवस्थापन (आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ। बिउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पु¥याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवम् स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजा खेती सम्बन्धमा धेरै कुराहरू प्रत्यक्ष जान्ने र सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले जानकारी दिए।

उनका अनुसार यहाँका कृषकहरूले समूहगत रुपमा करिब १४ रोपनी क्षेत्रफलमा सामुहिक तरबुजा खेती गरेका छन् भने व्यक्तिगत रुपमा पनि ठाउँ ठाउँमा तरबुजा खेती गरिएको छ। यसवर्ष लगाइएको तरबुजा खेतीले यस ठाउँमा यस खेतीको सम्भावना देखाएको बताउँदै उनले आगामी वर्षमा यहाँका धेरै ठाउँमा कृषकहरूले तरबुजा खेती गर्ने बताए।

तरबुजा खेतीमा कुल १७ हप्ता समयावधिको पाठशालाका क्रममा प्रत्येक हप्ताको आइतबार यहाँका कृषकहरूसँग कृषि प्राविधिकसहित स्थलगत रुपमा अध्ययन अनुसन्धान सहितको सिकाई गरिएको महानगरपालिकाका कृषि महाशाखाका कृषि प्राविधिक उमा पुनले जानकारी दिए।

उनका अनुसार कृषकहरूलाई सिकाउने क्रममा विभिन्न तीन समूहमा विभाजन गरिएको थियो। यसबीचमा सूर्यचन्द्र आइपिएम कृषक पाठशालामा लगाइएको तरबुजामध्ये करिब पाँच हजार पाँच सय किलोग्राम तरबुजा बजारमा बिक्रीका लागि लगिसकिएको र अरु बिक्रीका लागि लैजाने तयारीमा रहेको समूहका अध्यक्ष विश्वराज सापकोटाले जानकारी दिए।

पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरामा विगतमा सामान्य परीक्षणका रूपमा मात्र गरिएको तरबुजा खेती यसवर्ष २०० रोपनी क्षेत्रफलमा विस्तार भएको छ। महानगरपालिकाले कृषकलाई बिउ र मलचिबमा सहयोग गरेको छ। पोखरा महानगरपालिका वा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको बताउँदै उनले यस वर्ष पोखरामा करिब ४०० टन (दुई करोड रुपैयाँ बराबर) को तरबुजा उत्पादन भएको बताए।

महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ब्रान्डिङ र बजारीकरणका लागि स्टिकर तयार गरेको उनले जानकारी दिए। पोखरामा तरबुजा खेती एउटा विकल्पका रुपमा प्रमाणित भएको बताउँदै उनले यसले रोजगारी अभिबृद्धिमा पनि महत्वपूर्ण योगदान पुग्ने बताए।

आइपिएममा सरस्वती जातसँगै स्वीट हनी जात पनि लगाएर परीक्षण गरिएको उल्लेख गर्दै प्रमुख कडरियाले पोखरा आसपासमा सरस्वती जातको नै बढी उपयुक्त देखिएको जानकारी दिए। तरबुजा खेतीमा गरिएको अध्ययनले प्राङ्गारिक उत्पादन अन्य भन्दा स्वादिलो देखिएको उनको भनाइ छ।

कमेन्ट गर्नुहोस्
Share: