
पोखरा । पोखराको गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आजदेखि एक हप्ते निःशुल्क होटल तालिम सुरु गरिएको छ। एसईई परीक्षापछि होटल म्यानेजमेन्टमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई लक्षित गरी तालिमको आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए।
पोखरा उपत्यकाका विभिन्न विद्यालयका साथै पर्वत, स्याङ्जा, तनहुँ र गोरखा जिल्लाबाट गरी जम्मा ६१ जना विद्यार्थी तालिममा सहभागी भएका छन्।
व्यवस्थापन संकाय संयोजक विकाश ढुङ्गानाका अनुसार, तालिममा विद्यार्थीहरूले कुकिङ एण्ड बेकिङ, बार एण्ड मक्टेल मेकिङ, फुड एण्ड बेभरेज सर्भिस लगायतका होटल म्यानेजमेन्टसँग सम्बन्धित विभिन्न विषयमा व्यवहारिक सिकाइ प्राप्त गर्नेछन्।
तालिममा होटल व्यवस्थापन शिक्षकहरू सन्दीप थापा, शिवराज काफ्ले तथा फुड प्रोडक्सन प्रशिक्षक अरुण मानन्धरले सहजीकरण गर्नेछन् भने सम्पूर्ण तालिम प्रक्रिया शिक्षक सुरेन्द्र सदिच्छाको संयोजनमा सञ्चालन हुनेछ।
