
पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ कृषि सञ्जालले विश्व वातावरण दिवसको अवसरमा सडक डिभाइडरमा रहेका फूलका बिरुवाहरूको काटछाँट, गोडमेल तथा नयाँ बिरुवा रोपेर वातावरण संरक्षणको सन्देश दिएको छ।
कृषि सञ्जाल पोखरा-६ बैदामको आयोजनामा र वडा नं. ६ को प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा बुलौदी खोलादेखी हल्लनचोकसम्मको करिब २ किलोमिटर दुरीका सडक डिभाइडरहरूमा गोडमेल तथा काटछाँट गरिनुका साथै करिब ३ सय नयाँ फूलका बिरुवा रोपिएको सञ्जालकी अध्यक्ष वृन्दा धरेलले जानकारी दिइन्।
कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले “पृथ्वीको संरक्षण दिगो, प्रकृतिमैत्री जीवनयापन” भन्ने नारालाई व्यवहारमा उतार्नका लागि यस्तो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे। हरियाली सडक डिभाइडरमार्फत क्षेत्रलाई पर्यटकीय आकर्षण बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।
अध्यक्ष धरेलले पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्रमा फूलका बिरुवाहरूले पर्यटकको ध्यान आकर्षित गर्ने बताउँदै, यस्ता बिरुवाको संरक्षणमा सबैले चासो दिनुपर्नेमा जोड दिइन्।
त्यस्तै, निवर्तमान वडा अध्यक्ष जगत बहादुर पहारीले वातावरण स्वच्छ रहेमा मानव जीवन पनि स्वस्थ रहने बताए। तर, वातावरणीय संवेदनशीलताप्रति धेरैजसो मानिस मौन वा उदासीन देखिने चिन्ता व्यक्त गर्दै, जंगल र वनस्पति संरक्षणमा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा सचिव चन्द्रकला घिमिरे पहारीले वातावरण प्रदूषणले मानव स्वास्थ्यसँगै सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा पनि गम्भीर असर पारिरहेको बताउँदै, प्रदूषण न्यूनीकरणका लागि सबै सरोकारवालाहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।
सो अवसरमा बोटविरुवा संरक्षणमा योगदान पुर्याउँदै आएका जगन्नाथ तिमिल्सिनालाई सम्मान गरिएको थियो। कार्यक्रममा बैदाम क्षेत्रका विभिन्न संघसंस्थाहरूको उपस्थिति रहेको थियो।
