
पोखरा । विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं. १५ स्थित सिद्ध माध्यमिक विद्यालय, फलेपाटनले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। सिद्ध वनवाटिका वृक्षरोपण स्थल, रातीखहरेमा आयोजित उक्त कार्यक्रम विद्यालय, डिभिजन वन कार्यालय कास्की, र नेपाल वन प्राविधिक संघ गण्डकी प्रदेशको संयुक्त पहलमा सम्पन्न भएको हो।
विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाका अनुसार कार्यक्रम अन्तर्गत १५० वटा बिरुवाहरू रोपिएका छन्। “एक व्यक्ति: तीन बिरुवा” भन्ने मूल नारासहित गरिएको वृक्षरोपणमा शिक्षक, विद्यार्थी, प्रहरी, रेडक्रस सदस्य, वन प्राविधिक, तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले जलवायु परिवर्तनको मुख्य जिम्मेवारी औद्योगिक राष्ट्रहरूको भए पनि असर भने विकाशोन्मुख राष्ट्रले बेहोर्नुपरेको बताए। उनले प्रदूषण न्यूनीकरणका लागि समृद्ध राष्ट्रहरूले फण्ड स्थापना गरी जोखिमयुक्त देशलाई सहयोग गर्नुपर्नेमा जोड दिए।
डिभिजन वन कार्यालयका सचिव जिवनाथ पौडेलले प्लाष्टिक प्रदूषण न्यूनीकरणका लागि “५R” — Reduce, Refuse, Reuse, Recycle, Rethink – को अभ्यास अनिवार्य भएको बताए।
वडा नं. १५ का अध्यक्ष तोरण बानियाँले पृथ्वीलाई सुरक्षित राख्न व्यक्तिगत तथा सामूहिक दायित्व आवश्यक रहेको बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले वनवाटिका स्थापनाको उद्देश्य वातावरणीय सचेतना बढाउनुका साथै विद्यालयको सामाजिक उत्तरदायित्व पूरा गर्नु भएको उल्लेख गरे।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले गरेका थिए भने नेपाल वन प्राविधिक संघ गण्डकीका अध्यक्ष गणेशबहादुर कार्कीले स्वागत मन्तव्य र प्रधानाध्यापक गुरुदत्त कोइरालाले सञ्चालन गरेका थिए।



