मापदण्ड विपरीतका संरचना अन्ततः भत्किए, आठ वर्षपछि सडक निर्माणले गति लियो

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नं. ७ र १७ मा पर्ने मापदण्डविपरीतका संरचना आठ वर्षसम्म अटेरी भएपछि अन्ततः शुक्रबार भत्काइएका छन्। आरटिओ सडक अन्तर्गत बिरौटा चोकदेखि तीनकुने चोकसम्म १,१५० मिटर लम्बाइको सडकको दायाँ-बायाँ रहेका ती अवैध संरचनाहरू वडा कार्यालयको पहलमा हटाइएका हुन्।

सडक विस्तार सुरु भएदेखि नै घरधनीहरूले अटेर गर्दै संरचना हटाउन अस्वीकार गर्दै आएका थिए। बाध्यतावश निर्माण कम्पनीले विवादित क्षेत्र छाडेर बाटो निर्माण गर्नुपरेको थियो, जसले गर्दा धेरैजसो खण्ड साँघुरो बन्यो। फुटपाथ, नाला र कालोपत्रे काम अधुरै रह्यो। निर्माण कम्पनीले करिब ३ वर्षअघि नै सडकको मुख्य भाग निर्माण सम्पन्न गरिसकेको भए पनि संरचना नहट्दा सडक उपयोगमा ल्याउन सकिने अवस्थामा थिएन।

शुक्रबार वडा नं. १७ मा पर्ने ट्याक्सी चोकमुनि ६ वटा र वडा नं. ७ मा पर्ने १ वटा गरी कुल ७ संरचना हटाइएको वडा अध्यक्ष राममोहन आचार्यले जानकारी दिनुभयो। तीमध्ये एक घर पूर्ण रूपमा भत्काइएको हो। वडाध्यक्ष आचार्यका अनुसार अब केही दिनमै बाँकी फुटपाथ र नालाको काम सम्पन्न गरी कालोपत्र गरिनेछ।

“नक्सा पास नगरी बनाइएका संरचना भएकाले कानुन अनुसार कारबाही गरिएको हो,” वडाध्यक्ष आचार्यले भने, “घरधनीहरूको अटेरीपनकै कारण सडक निर्माण वर्षौँसम्म अलपत्र परेको थियो।”

तीनकुने टोल विकास संस्थाका अध्यक्ष गणेश श्रेष्ठका अनुसार यो सडक निर्माणका लागि तत्कालीन मेयर मानबहादुर जिसीको पालामा बजेट विनियोजन गरिएको थियो। महानगरले यसलाई ‘गौरवको आयोजना’ घोषणा गरी निर्माण अघि बढाएको थियो।

तर, निर्माण अवधि अवधिभर म्याद पटकपटक थप्नुपरेको थियो। मुख्य सडक २०७९ सालको अन्त्यतिर मात्र सम्पन्न भएको थियो। यद्यपि, मापदण्ड विपरीतका संरचना हटाउन नसक्दा सडक अझै अपूर्ण रहँदै आएको थियो।

यसअघि पनि फिस्टेल रेसिडेन्सी क्षेत्रका पाँच घर हटाउन खोज्दा सम्बन्धित घरधनीहरूले अदालतमा गएर अन्तरिम आदेश माग गरेका थिए। तर, अन्ततः आपसी सहमतिमा ती संरचना हटाइएपछि सो खण्डको सडक निर्माण सम्पन्न गरिएको वडा कार्यालयले जनाएको छ।

आरटिओ सडक योजनाअन्तर्गत पोखरा महानगरले २०७५/०७६ मा बिरौटा चोकदेखि तीनकुने चोकसम्मको १,१५० मिटर लम्बाइको पक्की सडक निर्माणका लागि ८ करोड २५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। तर, सडकछेउका संरचना नहट्दा केही खण्डमा काम रोकिँदै आएको थियो। निर्माण कार्यको ढिलाइका विषयमा समाधान दैनिकले निरन्तर खबर प्रकाशन गर्दै आएको थियो।

महानगरको प्रारम्भिक योजना २६ मिटर चौडाइको सडक बनाउने थियो। तर, त्यसले ५६ वटा घर भत्किनुपर्ने देखिएपछि योजना परिमार्जन गरी २४ मिटरमा झारिएको थियो। त्यसपछि पनि २१ वटा संरचना मापदण्ड विपरीत देखिए। तीमध्ये १७ वटा संरचना पहिल्यै हटाइए पनि बाँकी संरचना हटाउन समय लागेको हो। पछि फेरि सडकको चौडाइ घटाएर २२ मिटरमा सीमित गरिएको थियो।

सडकछेउका संरचना दुई वडामा पर्ने भएकाले सडकको आधा भाग वडा नं. ७ मा ११ मिटर र वडा नं. १७ मा ११ मिटर फराकिलो बनाइनेछ। महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम नक्सा पास नगरी बनाइएका संरचना हटाउने कानुनी अधिकार प्रयोग गरेको हो।

वडाध्यक्ष आचार्यका अनुसार आगामी केही महिनाभित्रमा सम्पूर्ण संरचना हटाई सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ, जसबाट स्थानीय बासिन्दाहरूले सहज र सुरक्षित यातायात सुविधा पाउनेछन्।

कमेन्ट गर्नुहोस्
Share: