
पोखरा । पोखरा महानगरपालिका-२९ मा अवस्थित दीपशिखा सामुदायिक पुस्तकालयमा ‘टेक एज युथ’ परियोजना सञ्चालन हुने भएको छ। रिड नेपाल अन्तर्गतको सो परियोजना पुस्तकालयसँगको सहकार्यमा आगामी दिनमा अघि बढाइनेछ।
बिहीबार आयोजित एक कार्यक्रममा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी र रिड नेपालकी कार्यक्रम संयोजक भाग्यश्री विष्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
परियोजना अन्तर्गत १३ देखि २२ वर्ष उमेर समूहका प्रविधिबाट बञ्चित, अध्ययनरत वा पढाइबाट टाढिएका किशोरकिशोरीहरू, साथै फरक क्षमता भएका व्यक्तिहरूलाई लक्षित गर्दै ५५ जनासम्मलाई प्रत्यक्ष लाभ पुग्नेछ।
कार्यक्रममा वडा नं. २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले वडा कार्यालयबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, महानगरपालिकाका कार्यपालिका सदस्य निर्मला पौडेल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, जनप्रकाश माविका प्रअ शेखरनाथ शर्मा, गोगन माविका प्रअ मोहनराज बराल, पुस्तकालय व्यवस्थापन समिति सदस्यहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव पदम प्रसाद अधिकारीले गरेका थिए। परियोजनाको अनुमानित लागत आठ लाख रुपैयाँ रहेको छ। यसमध्ये चार लाख रिड नेपालबाट र बाँकी पुस्तकालयले व्यवस्थापन गर्नेछ। अध्यक्ष भण्डारीले बाँकी रकमका लागि स्थानीय तह तथा संघसंस्थाहरूको सहयोग अपेक्षा गरिएको बताए।
