
पोखरा। पोखराको टुडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुडिखेल तीज महोत्सव-२०८२ अन्तर्गत शुक्रबार लोकप्रिय गायक राजु परियार र गायिका ज्योती मगरले सांगीतिक प्रस्तुति दिँदै दर्शक झुमाउने भएका छन्।
“हाम्रो संस्कृति, हाम्रो पहिचान-लोपोन्मुख संस्कृतिको संरक्षण, हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजना र विद्युत सवारी निर्माता कम्पनी बीवाईडीको मुख्य प्रायोजन रहेको छ।
राष्ट्रिय कलाकारहरूको धमाकेदार प्रस्तुति
महोत्सवमा राजु परियार र ज्योती मगरसँगै चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, शिव पौडेल, कृष्ण भट्टराई, कमला गैरे, शान्ति बर्देबा र सञ्जिव सिंह राना लगायतका कलाकारहरूले प्रस्तुति दिनेछन्। आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीका अनुसार, महोत्सवले पोखराको सांगीतिक माहोल झनै तातो बनाउनेछ।
यसअघि बिहीबारको कार्यक्रममा रोजिना परियार, तारापति सुवेदी, रामजी पौडेल, नवराज अधिकारी, तस्ला जिसी, पार्वती गुरुङ र गगन गुरुङ लगायतका कलाकारहरूले आ-आफ्ना प्रस्तुति दिएका थिए।
सांस्कृतिक तथा पारम्परिक प्रतियोगिता सम्पन्न
महोत्सव अन्तर्गत आयोजित एकल नृत्य प्रतियोगिता, छेलो हान्ने, ढिकी जातो, र तीज गीत प्रतियोगिताहरू सम्पन्न भइसकेका छन्। १० दिनसम्म चल्ने महोत्सवमा दैनिक उपभोग्य वस्तु, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ता कपडा लगायत १५० वटा व्यापारिक स्टल, रेस्टुरेन्ट स्टल, बाल उद्यान समेत सञ्चालनमा छन्।
अध्यक्ष अधिकारीका अनुसार महोत्सवले निम्न उद्देश्यहरू पूरा गर्ने लक्ष्य लिएको छ। जसमा ऐतिहासिक टुडिखेलको संरक्षण, परम्परागत नेपाली कला, संस्कृति र संस्कारको प्रवर्द्धन, महिलाहरूले उत्पादन गरेका वस्तुको प्रदर्शनी, नृत्य र संगीतमार्फत महिला सशक्तिकरणमा योगदान, मौलिक तीजको संरक्षण र भड्किला तीज प्रवृत्तिको निरुत्साह, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने मंचको व्यवस्था, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, इन्द्रेणी एकेडेमीमा अध्ययनरत बालबालिकाको समग्र विकास, नव निर्मित इन्द्रेणी आवासीय क्रियाकलाप भवनलाई सुविधा सम्पन्न बनाउने तथा शवयात्रा वाहन सञ्चालनको तयारी गरेको छ।
टुबोर्ग बियरले सह-प्रायोजन गरेको महोत्सवमा, गृहलक्ष्मी ग्यास, कर्मा इन्टरनेशनल काठमाण्डौले उप–प्रायोजन गरेका छन्। साथै बाल्ट्रा होम एप्लायन्सेस, राष्ट्रिय वाणिज्य बैंक, सालीको इन्स्योरेन्सले प्रायोजन गरेका छन्।
सामाजिक विकास तथा खेलकुद मन्त्रालय (गण्डकी प्रदेश), पर्यटन तथा उद्योग मन्त्रालय, पोखरा महानगरपालिका, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, पोखरा–१, २, ३ वडा कार्यालय लगायतले प्रवर्द्धनात्मक सहयोग गरेका छन्।
अन्य सहयोगी संस्थाहरूमा गण्डकी मेडिकल कलेज, लेकसिटी पानी, कम्प्लिट गार्डेन न्यूरोड, गरिमा विकास बैंक, गौतम स्याङ्जा सुनचाँदी पसल, प्रतिभा माध्यमिक विद्यालय, पराजुली आयल स्टोर पोखरा-१, कबर हाडवेयर, लाँदे पेट्रोलियम, पोखरा इन्टरनेट, र निचि वेबी चिप्लेढुङ्गा रहेका छन्।
