
पोखरा । कास्कीको पोखरा महानगरपालिका-८ बगाले टोलस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ८ जना व्यक्ति पक्राउ परेका छन्। प्रहरीले रु १ लाख २१ हजार ४२५ नगद र १ बुक (५२ पत्ती) ताससहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार राति ८ बजेतिर बगाले टोलस्थित गोबर्धन कुँवरको घरमा जुवा खेलिएको भन्ने सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले सो स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा पोखरा-४ गणेश टोलका ४९ वर्षीय यमबहादुर गौतम, पोखरा-६ का ३४ वर्षीय कृष्ण बस्नेत, पोखरा-८ बगाले टोलका ३५ वर्षीय लक्ष्मण कुँवर , पोखरा-८ बगाले टोलका ३८ वर्षीय महेन्द्र कुँवर, पोखरा-८ सृजनाचोकका ३० वर्षीय राम यादव, पोखरा-८ का ३० वर्षीय राम प्रवेश राम, पोखरा-६ का ३८ वर्षीय आकाश केसी तथा पोखरा-८ बगाले टोलका ५० वर्षीय बसन्त कुँवर रहेका छन्।
पक्राउ परेका सबै विरुद्ध जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दा अन्तर्गत जिल्ला प्रशासन कार्यालय, कास्कीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीका अनुसार जुवा लगायतका सामाजिक अपराध नियन्त्रण गर्न निरन्तर निगरानी र कारबाहीका कार्यक्रमहरू संचालन भइरहेका छन्।
