
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको प्रथम महिला प्रधानमन्त्रीका रूपमा नियुक्त भएकी छन्। शुक्रबार दिनभर चलेको गहन राजनीतिक छलफलपछि प्रतिनिधिसभा विघटन गर्दै अन्तरिम सरकारको नेतृत्व कार्कीलाई दिने निर्णय गरिएको हो। यस कदमले देशको संकटपूर्ण परिस्थितिमा नयाँ आशाको संचार गरेको छ।
कार्की यसअघि नेपालको सर्वोच्च अदालतकी पहिलो महिला प्रधानन्यायाधीश थिइन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको संवैधानिक परिषदबाट उनको नाम सिफारिस भई उनी प्रधानन्यायाधीश बनेकी थिइन्।
अहिले ओलीको अचानक र अप्रत्याशित बहिर्गमनपछि सुशीला कार्कीले देशको नेतृत्व सम्हाल्ने भएकी हुन्। कार्की भ्रष्टाचारविरुद्धको शून्य सहिष्णुता नीतिका लागि न्यायपालिकामा चर्चित थिइन्। प्रधानन्यायाधीश पदबाट अवकाशपछि उनी नागरिक अभियन्ताका रूपमा सक्रिय रहिन्। उनको खरो स्वभाव, स्पष्ट अभिव्यक्ति र सिद्धान्तमा अडिग रहने स्वभावले उनलाई जनमानसमा अलग पहिचान दिलाएको छ।
उनको कार्यकालका क्रममा सत्तारूढ गठबन्धनका सांसदहरूले उनलाई हटाउन महाभियोग प्रस्ताव दर्ता गरेका थिए। २०७६ साल वैशाख १७ गते नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदले संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए। सोही दिन उनलाई तत्काल निलम्बन गरिएको थियो। तर नेकपा एमालेलगायत विपक्षी दलहरूको अवरोधका कारण प्रस्ताव संसद् बैठकमा प्रस्तुत हुन सकेन।
२०७७ वैशाख २२ मा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासबाट अन्तरिम आदेश जारी भएपछि प्रस्ताव निष्प्रभावी भयो र कार्की पुनः सर्वोच्च अदालत फर्किइन्।
पारिवारिक पृष्ठभूमि र शिक्षा
सुशीला कार्की सात सन्तानमध्ये जेठी छोरी हुन्। उनको परिवार किसान पृष्ठभूमिको थियो र बीपी कोइरालाको परिवारसँग निकट मानिन्थ्यो। उनका बुबाको चाहना उनलाई डाक्टर बनाउने थियो, तर उनले कानुन अध्ययन गर्ने निर्णय गरिन्।
बनारस हिन्दू विश्वविद्यालय (वाराणसी) बाट उनले राजनीतिशास्त्रमा एमए गरेकी हुन्। अध्ययनकै क्रममा कांग्रेसका युवा नेता दुर्गाप्रसाद सुवेदीसँग विवाह गरेकी थिइन्। कार्कीले आफ्नो पेशागत यात्रा वि.सं २०३५ सालमा वकालतबाट सुरु गरिन्। उनले महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापन गरिन् र विराटनगर पुनरावेदन अदालत बार एशोसिएसनकी अध्यक्ष समेत भइन्।
सन् २००९ मा उनी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भइन्। उनले धेरै चर्चित मुद्दाहरूमा ऐतिहासिक फैसला सुनाएकी छिन्, जसमा सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने निर्णय उल्लेखनीय छ।
अन्तर्राष्ट्रिय अनुभव
कार्कीले अमेरिका, बेलायत, श्रीलङ्का, जापान, चीन, भारत, तान्जानिया र नेदरल्याण्ड लगायतका मुलुकहरूको भ्रमण गरिसकेकी छन्। उनी नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा दक्ष छिन्। तीन दशकभन्दा बढीको कानुनी अनुभव र सात वर्षसम्म सर्वोच्च अदालतमा न्यायाधीशको भूमिकामा रहेकी उनी न्यायिक क्षेत्रकी निडर, निष्ठावान् र स्वच्छ छविकी व्यक्तित्वको रूपमा चिनिन्छिन्।
ऐतिहासिक नेतृत्व
२०७२ सालमा संविधान जारी भएपछि नेपालमा पहिलोपटक महिलाहरू उच्च पदमा पुगेका थिए, राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधीश सुशीला कार्की। अहिले, उनी नै प्रधानमन्त्री बन्न पुगेकी छन्, जसले महिला नेतृत्वको नयाँ अध्याय सुरु गरेको छ।
