
काठमाडौं । २३ र २४ गतेका संवेदनशील घटनामा संलग्न रहेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा दम्पत्ती तथा नेता रमेश लेखकको नाम जोडिएसँगै उनीहरू विदेश भाग्न सक्ने आशंका गरिएको छ। यसै सन्दर्भमा सरकारले उनीहरूको पासपोर्ट रोक्का गर्ने तयारी थालेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कडा अभिव्यक्ति दिँदै, “पासपोर्ट रोक्का त सुरु मात्र हो, आवश्यक परे तत्कालै पक्राउ गर्न पनि पछि पर्दैनौं,” भन्दै सरकार कुनै पनि दबाबमा नझुक्ने स्पष्ट संकेत दिएका छन्।
गृहमन्त्री अर्यालले थप भने, “देशमा कानुनी राज्य कायम राख्न कसैले पनि अपवादको आशा गर्नु हुँदैन। जो भए पनि अनुसन्धानको दायरामा आउँछ।”
गृहमन्त्रालय स्रोतका अनुसार संबंधित व्यक्तिहरूको पासपोर्ट रोक्का गर्न अध्यागमन विभाग र परराष्ट्र मन्त्रालयसँग समन्वय भइसकेको छ। प्रारम्भिक छानबिन प्रतिवेदनले उनीहरू घटनामा प्रत्यक्ष वा परोक्ष संलग्न भएको संकेत देखाएपछि उक्त कदम चालिएको जनाइएको छ।
यो घटनाले देशको राजनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ। सत्तापक्ष र विपक्षी दलहरूले एक(अर्कामाथि आरो-प्रत्यारोप शुरु गरेका छन्। प्रतिपक्षले सरकारले बदनियतसाथ राजनीतिक प्रतिशोधको आधारमा कारबाही प्रक्रिया अघि बढाएको आरोप लगाइरहेका छन् भने गृहमन्त्री अर्यालले त्यसलाई खारेज गर्दै “यो अनुसन्धानको प्रक्रिया हो, राजनीति होइन,” भनेका छन्।
