महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट: चौथो खेलमा नेपाल विजयी, शृङ्खला बराबरीमा

Share:

काठमाडौं : मलेसियामा जारी पाँच खेलको महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै शृङ्खला २–२ को बराबरीमा पुर्‍याएको छ। अब शृङ्खलाको अन्तिम तथा पाँचौं खेल निर्णायक बन्नेछ।

आज सम्पन्न खेलमा मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि कप्तान इन्दु बर्माले उत्कृष्ट प्रदर्शन गर्दै ३९ बलमा अविजित ४८ रन बनाइन्। यस्तै, रुबिना क्षेत्रीले २३ बलमा २३ रन जोडिन्।

मलेसियाका तर्फबाट नुर दानिया स्युहादा, आइना हमिजा, र माहिरा इजातीले समान १/१ विकेट लिइन्।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १११ रन बनाएको थियो। मास एलिसाले मलेसियाका लागि अविजित ५६ रन बनाउँदै राम्रो प्रदर्शन गरिन्। माहिरा इजातीले १८ र नुर दानिया स्युहादाले १५ रनको योगदान दिइन्।

नेपालका बलरमध्ये कविता कुँवरले शानदार प्रदर्शन गर्दै ३ विकेट लिइन्। पूजा महतो र कविता जोशीले समान १/१ विकेट लिए।

पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो। अब शृङ्खलाको अन्तिम तथा निर्णायक खेल भोलि (२२ असोज) हुनेछ, जसले शृङ्खलाको विजेता टुंगो लगाउनेछ।

कमेन्ट गर्नुहोस्
Share: