मन्त्री कुलमान घिसिङद्वारा विद्युत् भार प्रेषण केन्द्रको अनुगमन, विद्युत् प्रणालीलाई भरपर्दो र आधुनिक बनाउने प्रतिवद्धता

228
0
Share:

 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको विद्युत् भार प्रेषण केन्द्र (Load Dispatch Centre) को सोमबार साँझ निरीक्षण गरेका छन्।

काठमाडौंको स्युचाटारस्थित केन्द्रमा अनुगमन गर्दै मन्त्री घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण, वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, आपूर्ति–माग व्यवस्थापन, बाढीपहिरोबाट क्षति भएका आयोजनाहरूको पुनःस्थापना लगायत विषयमा विस्तृत जानकारी लिएका हुन्।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका घिसिङले देशका विभिन्न स्थानबाट छिनछिनमा बत्ति जाने गुनासोहरूबारे गम्भीर चासो व्यक्त गरे। उनले विद्युत् प्रणालीलाई भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिहरूबारे छलफल गरेका थिए।

बाढी तथा पहिरोका कारण क्षति पुगेका संरचनाहरूको शीघ्र मर्मत र सेवा पुनःस्थापना गर्न निर्देशन दिँदै उनले छिनछिनमा बत्ती जाने समस्यालाई उच्च प्राथमिकतामा राखी सम्बोधन गर्न मातहतका कार्यालयलाई तयारी अवस्थामा राख्न आग्रह गरे।

मन्त्री घिसिङले विशेषगरी विद्युतगृह, प्रसारण लाइन र सबस्टेसनहरूलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने, साथै मस्र्याङ्दी करिडोर २२० केभी र हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणमा जोड दिनुपर्ने आवश्यकता औंल्याए।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले दिएको जानकारी अनुसार हाल नेपालले औसतमा दैनिक १००० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ। चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्ममा मात्रै झण्डै १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको छ।

नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत् निर्यात गर्ने स्वीकृति पाएको छ।

कमेन्ट गर्नुहोस्
Share: