
पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गल्याङ नगरपालिका-४ स्थित शिशुकल्याण माध्यमिक विद्यालयमा भएको कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर खरिदमा नक्कली दाखिला प्रतिवेदन तयार गरी विद्यालयको रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम थापा, प्रधानाध्यापक रविलाल लुईटेल र लेखापाल छविलाल गाहाविरुद्ध विशेष अदालत, काठमाडौंमा आइतबार मुद्दा दायर गरिएको हो।
अनुसन्धानका क्रममा ती तीन जनाले आपसी मिलेमतोमा आर्थिक वर्ष २०७८/७९ मा विद्यालयलाई प्राप्त ६ लाख ५० हजार रुपैयाँको आइसीटी अनुदान रकमबाट ४ लाख ७१ हजार रुपैयाँभन्दा बढी हिनामिना गरेको पाइएको आयोगले जनाएको छ।
२०७९ असार २३ गते विद्यालयले ७ थान डेस्कटप कम्प्युटर, १ थान ल्यापटप, १ थान प्रोजेक्टर र १ थान प्रिन्टर ६ लाख ७४ हजार ४५ रुपैयाँमा खरिद गरेको भए पनि, २ थान कम्प्युटर, १ प्रिन्टर र १ प्रोजेक्टर विद्यालयमा नपुर्याई नक्कली दाखिला प्रतिवेदन तयार पारिएको खुलेको हो।
यसबाहेक, विद्यालय व्यवस्थापन समितिको निर्णयबिना प्रधानाध्यापकको नाममा २ लाख ५४ हजार रुपैयाँभन्दा बढीको चेक काटी रकम फिर्ता नगरी हिनामिना गरिएको पनि आयोगको अनुसन्धानमा देखिएको छ।
कुल ४ लाख ७१ हजार ६ सय ६७ रुपैयाँ २६ पैसा बराबरको भ्रष्टाचारजन्य हानिनोक्सानी प्रमाणित भएकाले ती तिनैजनामाथि कानुनबमोजिम सजायको मागसहित आरोपपत्र विशेष अदालतमा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन्।
