
पोखरा । समाजसेवी मेजर लक्ष्मी प्रसाद गुरुङ र उनकी धर्मपत्नी हुम कुमारी गुरुङले पत्रकारिता क्षेत्रमा सक्रिय आदिवासी जनजाति युवा पत्रकारलाई प्रोत्साहन दिने उद्देश्यसहित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाको संयोजनमा अक्षयकोष स्थापना गरेका छन्। दाम्पत्यले आफ्नो वैवाहिक वर्षगाँठको अवसर पारेर “मेजर लक्ष्मी प्रसाद-हुम कुमारी गुरुङ एमभिओ बि.इ.एन टू जि.आर.युवा पत्रकारिता पुरस्कार” स्थापना गरेसँगै अबदेखि हरेक वर्ष आदिवासी जनजाति समुदायका कर्मशील युवा पत्रकारलाई पुरस्कार प्रदान गरिने भएको छ।
फोनिज कास्कीका अध्यक्ष बिना कुमारी मगरका अनुसार आगामी मंसिर ३ गते, बुधबार छनोट समितिको सिफारिसका आधारमा पत्रकारिता पुरस्कार-२०८२ प्रदान गरिने छ। आदिवासी जनजातिको हक-अधिकारको संरक्षण-सम्वर्धनमा प्रतिबद्ध रहँदै कम्तीमा पाँच वर्ष पत्रकारितामा सक्रिय युवा पत्रकारलाई हौसला प्रदान गर्ने उद्देश्य पुरस्कारको रहेको बताइएको छ। पुरस्कारको नगद राशी १० हजार रुपैयाँ तोकिएको छ।
एक लाख ११ हजार ११५ रकमसहित अक्षयकोष स्थापना
फोनिज कास्कीका कोषाध्यक्ष बस बहादुर शेर्पा (बसन्त) का अनुसार हाल १ लाख ११ हजार १ सय १५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको र प्रत्येक वर्ष रकम थपिँदै लैजाने योजना रहेको छ। शुक्रबार बसेको बैठकले फोनिज कास्कीका सल्लाहकार हुम बहादुर गुरुङको संयोजकत्वमा पाँच सदस्यीय छनोट समिति गठन गरेको छ।
जसमा सदस्यहरू रुद्र श्रीष मगर, इञ्चार्ज, फोनिज गण्डकी, खिमा कुमारी गुरुङ, अध्यक्ष, फोनिज गण्डकी, बिना कुमारी मगर, अध्यक्ष, फोनिज कास्की तथा देविका तामाङ, सचिव, फोनिज कास्की रहेका छन् ।
पत्रकारिता क्षेत्रप्रति देखाएको आत्मीयता र योगदानप्रति फोनिज कास्कीले मेजर गुरुङ दम्पतीलाई धन्यवाद ज्ञापन गरेको छ। शुक्रबारको बैठकमा फोनिज गण्डकीका उपाध्यक्ष धन बहादुर (सुमन) गुरुङ, निवर्तमान अध्यक्ष दिल प्रसाद गुरुङ, सल्लाहकार उदय बहादुर अमात्य लगायतले पुरस्कारलाई दिगो र प्रभावकारी बनाउन स्पष्ट कार्यविधि बनाउनुपर्ने सुझाव दिएका थिए।
सामाजिक सेवामा सक्रिय मेजर गुरुङ
मेजर गुरुङ द गोर्खाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, गल्फ संघ कास्की र गोर्खा कम्युनिटी कास्की नेपालका संस्थापक अध्यक्षका प्रतिनिधिसमेत हुन्।
उनी १८ वर्षदेखि गोर्खा अभियान तथा सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। उनले ब्रिटिस र ब्रुनेईमा ४२ वर्ष सेवा गरेका थिए।
पत्रकारिता क्षेत्रको विकास, युवा प्रतिभाको हौसलाअभिवृद्धि तथा आदिवासी जनजाति समुदायको सशक्तिकरणमा ठूलो योगदान पुग्ने विश्वासका साथ यो पुरस्कार स्थापना गरिएको आयोजकले जनाएको छ।
