
पोखरा । युनाईटेड क्लब पोखराको आयोजनामा १४औँ संस्करणको पोखरा महोत्सव आगामी पौष २९ देखि माघ ११ गतेसम्म पोखराको अमरसिंह माध्यमिक विद्यालयको विशाल खेल मैदानमा आयोजना हुने भएको छ। “युवाको जाँगर राष्ट्र निर्माणको आधार” भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो।
विसं २०६७ मा स्थापना भएको युनाईटेड क्लब पोखराले स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनलाई मुख्य उद्देश्य बनाउँदै पोखरा महोत्सव आयोजना गर्दै आएको छ। महोत्सवबाट संकलित आम्दानीमार्फत क्लबले पोखरा र आसपासका २० वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना, शैक्षिक सामग्री वितरण तथा ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ।
क्लबले खेलकुद क्षेत्रमा विभिन्न प्रतियोगिता आयोजना तथा प्रायोजन गर्दै आएको छ भने पर्यटन प्रवद्र्धनतर्फ पोखरामा खुला चिडियाखाना निर्माणको अवधारणा अघि सार्दै पोखरा महानगरपालिका-पचभैया क्षेत्रका सामुदायिक वन समेटेर चिडियाखाना निर्माणका लागि पहल भइरहेको जानकारी दिइयो। साथै, सेती नदीका खोँचलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियान पनि निरन्तर रहेको आयोजकले जनाएको छ।
यसैगरी, पोखरा-२७ अर्चलेमा क्लबको आफ्नै जग्गामा गरिब तथा आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई लक्षित गरी युनाईटेड छात्रावास निर्माण कार्य अगाडि बढाइएको छ। डिपिआर अनुसार २० कोठे भवन निर्माण गर्नुपर्नेमा यस वर्ष ३ कोठा सम्पन्न भइसकेको र महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक सत्रदेखि छात्रावास सञ्चालन गर्ने योजना रहेको जानकारी दिइयो।
१४औँ पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इन्डस्ट्रिज प्रालि (बेटर होम एप्लायन्सेस) रहेको छ भने विभिन्न राष्ट्रिय तथा स्थानीय संस्थाहरू सह-प्रायोजक, प्रायोजक र साझेदारका रूपमा जोडिएका छन्। पोखरा महानगरपालिका र अमरसिंह मावि विशेष सहयोगी संस्थाका रूपमा रहेका छन्।
१३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २५० स्टल रहनेछन्, जसका सबै स्टल पूर्ण रूपमा बुक भइसकेका छन्। महोत्सवमा २ लाख ५० हजार दर्शक भित्रिने अनुमान गरिएको छ। आयोजकका अनुसार कुल आम्दानी १ करोड ५१ लाख ७५ हजार रुपैयाँ र खर्च १ करोड २३ लाख ६० हजार रुपैयाँ हुने अनुमान गरिएको छ, जसबाट करिब २८ लाख १५ हजार रुपैयाँ बचत हुने अपेक्षा गरिएको छ।
महोत्सवमा फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक (भत्ता कार्डधारी), एकल महिला, विदेशी पर्यटक, पत्रकार तथा ५ वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
महोत्सवका मुख्य आकर्षणहरूमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, लाइभ कन्सर्ट, जातजातिका कला संस्कृतिको प्रदर्शन, औद्योगिक तथा हस्तकला सामग्रीको प्रदर्शनी तथा बिक्री, सूचना प्रविधि प्रदर्शनी, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, बाल उद्यान, कृषि गतिविधि, विज्ञान प्रदर्शनी, झाँकी तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू रहनेछन्।
महोत्सवको उद्घाटन २०८२ साल पौष २९ गते दिउँसो १२स्३० बजे अमरसिंह माविको खेल मैदानमा हुने छ भने माघ ११ गते समापन गरिने आयोजकले जनाएको छ। महोत्सवलाई सभ्य र भव्य बनाउन सम्पूर्ण कला-संस्कृति प्रेमी, पर्यटन व्यवसायी, व्यापारी, समाजसेवी, बुद्धिजीवी, सर्वसाधारण तथा सञ्चारकर्मीहरूलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आयोजक समितिले अपिल गरेको छ।
