
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेटले खेलाडी र दर्शक दुवैलाई उत्साहित बनाएको बताएका छन्। आईसीसी टी-२० विश्वकप ‘ट्रफी टुर’ अन्तर्गत आज पोखरामा प्रदर्शन गरिएको विश्वकप ट्रफी अवलोकन गर्दै उनले नेपालमा क्रिकेटप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको उल्लेख गरे। “नेपाली खेलाडीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढेसँगै क्रिकेटप्रतिको क्रेज पनि उल्लेखनीय रूपमा बढेको छ,” मुख्यमन्त्री पाण्डेले भने, “विश्वकप ट्रफी नेपालमा ल्याइनु क्रिकेटप्रेमी र खेलाडीका लागि गर्व र खुसीको विषय हो।”
युवाहरूको क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई सम्बोधन गर्न सङ्घ र प्रदेश सरकारले मिलेर आधारभूत खेल पूर्वाधार विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिए। पोखरा ल्याइएको आईसीसी टी-२० विश्वकप ट्रफी पोखरा रङ्गशालामा प्रदर्शनका लागि राखिएको थियो। ट्रफी अवलोकन कार्यक्रममा मुख्यमन्त्री पाण्डेसँगै सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, खेलकुदकर्मी, खेलाडी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
‘ट्रफी टुर’ अन्तर्गत ट्रफीसँग फोटो खिच्ने तथा अवलोकन कार्यक्रमले पोखरामा क्रिकेटप्रतिको उत्साह थप बढाएको छ। प्रादेशिक क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले ट्रफीको पोखरा भ्रमणले पर्यटन प्रवर्द्धनसँगै क्रिकेटप्रतिको आकर्षण अझ सशक्त बनाउने विश्वास व्यक्त गरे। आईसीसी टी-२० विश्वकप क्रिकेट आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा आयोजना हुँदैछ। उक्त प्रतियोगितामा नेपाल सहभागी हुँदैछ र यो नेपालका लागि तेस्रो टी-२० विश्वकप सहभागिता हुनेछ। विश्वकप ट्रफी सोमबार नेपाल ल्याइएको हो।
