
पोखरा । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी जम्ने गरेको छ भने बाक्लो तुसारोका कारण हिँडडुलसमेत कठिन भएको छ । चिसो बढेसँगै स्थानीय बासिन्दा बेँसी झरेका छन् । हाल अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायी मात्र ढोरपाटनमा छन् ।
पाँच वर्ष अगाडिसम्म हिउँद याममा ढोरपाटन प्रायः सुनसान हुन्थ्यो । तर यस वर्ष भने कडाकेको जाडोका बीच पनि पर्यटकको चहलपहल देखिएको छ । बाह्रै महिना प्राकृतिक सुन्दरतामा कमी नआउने भएकाले ढोरपाटन पर्यटकको रोजाइमा पर्दै गएको छ ।
अघिल्ला वर्षमा मङ्सिरको अन्तिम सातापछि पर्यटकको आवागमन घट्दै चैतसम्म क्षेत्र सुनसान हुने गर्थ्यो । तर यसपालि चिसो याममै पर्यटक आउन थालेपछि होटल व्यवसायी उत्साहित छन् । ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैका अनुसार अघिल्लो वर्षसम्म करिब चार महिना होटल बन्द गर्नुपर्थ्यो । “यसपालि भने एक दिन पनि होटल खाली राख्नुपरेको छैन,” उनले भने।
उनका अनुसार पछिल्लो पाँच वर्षमा ढोरपाटन आउने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । हिउँद याममा पनि पर्यटकको चहलपहल भएको यो पहिलोपटक हो । हाल शुक्रबार र शनिबार करिब दुई सय तथा अन्य दिनमा ३० देखि ५० जना पर्यटक ढोरपाटन पुग्ने गरेका छन् ।
तीव्र प्रचारप्रसारका कारण बुटवल, पोखरा, काठमाडौँ, चितवन, भैरहवालगायत देशभरका स्थानबाट पर्यटक आउन थालेको अध्यक्ष अदैले बताए । “गत वर्ष यो समयमा ढोरपाटन सुनसान थियो । यसपालि भने दैनिकजसो पर्यटक आइरहेका छन्,” उनले भने, “सडकको अवस्था पनि क्रमशः सुधार हुँदैछ । आगामी वर्षदेखि ढोरपाटनमा बाह्रै महिना पर्यटकको चहलपहल हुने आशा गरेका छौँ।”
एक दशकअघि ढोरपाटन पुग्ने पर्यटक न्यून थिए । तर पछिल्लो समय प्रचारप्रसार र पूर्वाधार सुधारसँगै बर्खा याममा हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । ढोरपाटन उपत्यकासँगै बुकीपाटन र जलजला क्षेत्र घुम्ने पर्यटकको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।
होटल व्यवसायी धीरेन्द्र घर्तीमगरका अनुसार खान र बस्नका लागि सुविधा विस्तार भएसँगै जाडो याममा समेत पर्यटक आउन थालेका हुन् । “टाढाबाट आउने पर्यटकले अग्रिम कोठा बुकिङ गर्न थालेका छन्,” उनले भने।
नवलपुरबाट घुम्न आएका पर्यटक आशिष पुरीले ढोरपाटनमा अत्यधिक चिसो भए पनि प्राकृतिक सुन्दरताले आफूहरूलाई लोभ्याएको बताए । जाडो बिदाको अवसर पारेर नौ जनाको समूहमा घुम्न आएको बताउँदै उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा देखेका तस्बिर तथा भिडियोले ढोरपाटन आउन प्रेरित गरेको सुनाए । उनले यो सिजनमा ढोरपाटन आउने पर्यटकलाई न्यानो कपडा साथमा ल्याउन सुझाव दिए ।
चिसोका कारण बोबाङ, अधिकारीचौर र निसीखोला क्षेत्रका स्थानीय बासिन्दा बेँसी झरेका छन् । उनीहरू चैत लागेपछि मात्रै पुनः ढोरपाटन फर्किने गर्छन् । अघिल्ला वर्षमा हिउँद याममा पर्यटक कम हुँदा व्यवसायी फुर्सदिला हुन्थे । तर यस वर्ष अवस्था फेरिएको छ ।
पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीयको सङ्ख्या न्यून थियो । हाल भने ढोरपाटन उपत्यकामा मात्रै करिब ४० हाराहारी होटल सञ्चालनमा छन् ।
