
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्की जिल्लाका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुंगो लगाएको छ। पार्टीले कास्की क्षेत्र नम्बर १ बाट गनेस पौडेल, क्षेत्र नम्बर २ बाट उत्तमप्रसाद पौडेल र विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
कास्की निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गनेस पौडेल २०७९ सालको स्थानीय तह निर्वाचनमा ‘अटेरी अभियान’मार्फत पोखरा महानगर प्रमुखका प्रत्याशीका रूपमा चर्चामा आएका थिए । पोखरा-१४ निवासी पौडेल लेखकसमेत हुन् । उनी काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह (बालेन) निकट मानिन्छन् र बालेनसँगै रास्वपामा आबद्ध भएका हुन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा एमालेका मनबहादुर गुरुङ निर्वाचित भएका थिए। यसपटक कास्की-१ मा नेकपाबाट राजकाजी गुरुङ (करण) र एमालेबाट बैनबहादुर अधिकारी क्षेत्री उम्मेदवार बनेका छन्।
त्यस्तै, कास्की निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाबाट उम्मेदवार बनेका उत्तमप्रसाद पौडेल पेशाले पत्रकार हुन्। रुपा गाउँपालिका निवासी पौडेल पछिल्लो समय रास्वपाको संगठन र राजनीतिक गतिविधिमा सक्रिय रहेका छन्। अघिल्लो निर्वाचनमा यो क्षेत्र एमालेकी विद्या भट्टराई अधिकारीले जितेकी थिइन्। यसपालि कास्की-२ मा नेकपाबाट हेमबहादुर थापा (किरण) र एमालेबाट रश्मि आचार्य प्रतिस्पर्धामा छन्।
यसैगरी, कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विना गुरुङलाई प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले पार्टीको आधिकारिक टिकट पाएकी हुन्। विना गण्डकी प्रदेशका ११ जिल्लाअन्तर्गतका विभिन्न निर्वाचन क्षेत्रमध्ये रास्वपाबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने एक्ली महिला बनेकी छन्।


