
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । लामो समयदेखि चल्दै आएको आन्तरिक रस्साकस्सीपछि कांग्रेसले अन्ततः तीनै क्षेत्रमा उम्मेदवार चयन गरेको हो ।
पार्टी स्रोतका अनुसार कास्की-१ बाट तिलक रानाभाट, कास्की-२ बाट माधवप्रसाद बास्तोला (मधु) र कास्की-३ बाट मनोज गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ । यद्यपि, उनीहरूले उम्मेदवारी मनोनयनका लागि आवश्यक पर्ने आधिकारिक पत्र भने अझै बुझिसकेका छैनन् ।
को बने कांग्रेसका उम्मेदवार ?
कास्की-१: तिलक रानाभाट
वैदेशिक रोजगार व्यवसायी रानाभाट कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका नेता हुन् । विगतमा सभापति शेरबहादुर देउवा निकट मानिएका उनी पछिल्लो समय महामन्त्री गगन थापा समूहमा सक्रिय छन् ।
यस क्षेत्रबाट पूर्वजिल्ला सभापति एवं केन्द्रीय सदस्य कृष्ण केसीले पनि टिकटको दाबी गरेका थिए । तर, अघिल्लो संसदीय निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोपमा कारबाही भोगेका कारण उनी प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
कास्की-२: माधवप्रसाद बास्तोला (मधु)
गण्डकी प्रदेश कांग्रेसका प्रवक्ता बास्तोला पोखरा-११ का स्थायी बासिन्दा हुन् । उनी २०५४ देखि २०५९ सम्म तत्कालीन पोखरा नगरपालिकाको वडाध्यक्ष थिए ।
यसअघि यही क्षेत्रबाट पराजित भएका केन्द्रीय सदस्य एवं प्रवक्ता देवराज चालिसेले चुनाव नलड्ने निर्णय गरेपछि बास्तोलालाई अवसर मिलेको हो । यहाँ अन्य नेताहरूको नाम पनि चर्चामा रहे पनि अन्ततः बास्तोलामै सहमति जुटेको स्रोत बताउँछ ।
कास्की-३: मनोज गुरुङ
कास्की-३ बाट उम्मेदवार बनेका मनोज गुरुङ सोही क्षेत्रका क्षेत्रीय सभापति तथा नेपाल तरुण दल कास्कीका अध्यक्ष हुन् । संस्थापन (देउवा) पक्षका मानिने गुरुङलाई जिल्लाभित्रको आन्तरिक सन्तुलन र गुरुङ समुदायको मत आकर्षित गर्ने रणनीतिअन्तर्गत अघि सारिएको बताइएको छ । यस क्षेत्रमा नेता रामचन्द्र त्रिपाठीको नाम पनि चर्चामा थियो ।
कांग्रेसले उम्मेदवार टुंग्याएसँगै कास्कीका तीनै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी थपिएको छ । अब मनोनयन दर्तासँगै कांग्रेस औपचारिक रूपमा चुनावी मैदानमा उत्रिने तयारीमा छ ।
