शेरबहादुर देउवाको अपराजित संसदीय यात्रामा ब्रेक, प्रतिनिधिसभा निर्वाचन नलड्ने

Share:

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पाँच पटकका प्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको दौडबाट बाहिरिएका छन् । २०४८ सालदेखि निरन्तर अपराजित रहँदै आएका देउवा यसपटक उम्मेदवार नबन्ने भएका हुन् । यससँगै उनको साढे तीन दशक लामो संसदीय यात्रामा पहिलोपटक विराम लागेको छ ।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले उनको उम्मेदवारी नहुने विषय पुष्टि गर्दै भने, “शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु ।”

पार्टी स्रोतका अनुसार देउवाले अन्तिम समयसम्म पनि आफ्नो गृहजिल्ला डडेल्धुराबाट चुनाव लड्ने इच्छा व्यक्त गर्दै आएका थिए । तर, कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले उनलाई टिकट नदिने निर्णय गरेको हो । नेतृत्वले देउवालाई सक्रिय निर्वाचन राजनीतिबाट विश्राम लिएर पार्टीको संरक्षक तथा अभिभावकीय भूमिकामा रहने सुझाव दिएको छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार, “निवर्तमान सभापतिज्यूले सोमबार साँझसम्म पनि डडेल्धुराबाट चुनाव लड्ने चाहना राख्नुभएको थियो । तर, उहाँलाई अभिभावकको भूमिकामा रहन आग्रह गरियो । उहाँलाई पुनः उम्मेदवार बनाउँदा पार्टीभित्र सुरु भएको रूपान्तरण र पुस्तान्तरणको सन्देश कमजोर हुने देखियो । त्यसैले टिकट नदिने निर्णयमा पुगेका हौँ ।”

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । यही प्रक्रियाबीच कांग्रेसको यो निर्णय सार्वजनिक भएको हो ।

गृहमन्त्रीका रूपमा राष्ट्रिय राजनीतिमा उदाएका देउवा पाँच पटक प्रधानमन्त्री बनेका नेता हुन् । २०४८ सालदेखि भएका सातवटै संसदीय निर्वाचनमा उनी डडेल्धुराबाट विजयी हुँदै आएका थिए । पार्टीको पछिल्लो निर्णयसँगै देउवाको अपराजित संसदीय राजनीतिक यात्रामा औपचारिक ‘ब्रेक’ लागेको छ ।

कमेन्ट गर्नुहोस्
Share: