‘अपरेसन ३६५’ को कडाइ: कास्कीमा २५२ मोटरसाइकल कारबाहीमा, ३ दिनमै ३५ नियन्त्रण

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ध्वनी प्रदूषण र मोटरसाइकलको स्वरूप परिवर्तन गर्नेविरुद्ध सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म २५२ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरेको छ। पछिल्लो तीन दिनमै ३५ मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

चर्को आवाज निकाल्ने गरी साइलेन्सर बिगार्ने, मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने तथा रातको समयमा शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधि बढेपछि यो विशेष अभियान सुरु गरिएको हो।

डिएसपी हरि बहादुर बस्नेतका अनुसार समाजमा आतंक सिर्जना गर्ने र अनावश्यक ध्वनी प्रदूषण फैलाउनेहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय बनेको छ। “मोटरसाइकलको पार्टपुर्जा परिवर्तन गरी पड्किने आवाज निकाल्ने कार्यले सर्वसाधारणलाई सास्ती दिएको छ, त्यसैले निगरानी कडा बनाएका हौँ,” उनले भने।

अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानमा चेकजाँच तीव्र पारिएको छ। नियन्त्रणमा लिइएका मोटरसाइकल धनीलाई सवारी तथा यातायात ऐन अनुसार कारबाही गरिएको प्रहरीले जनाएको छ।

सडक सुरक्षा र नागरिकको शान्तिका लागि ‘अपरेसन ३६५’ आगामी दिनमा पनि निरन्तर चल्ने प्रहरीले स्पष्ट पारेको छ। साथै, कास्की प्रहरीले सबै सवारी चालकलाई तोकिएको मापदण्ड पालना गर्न र ध्वनी प्रदूषण न्यूनीकरणमा सहयोग गर्न आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: