फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

Share:

पोखरा । पर्यटकीय नगरी पोखराको प्रमुख आकर्षण फेवातालमा शनिबार बिहान कार खस्दा एक युवकको दुःखद मृत्यु भएको छ। पोखरा महानगरपालिका-६ पामेस्थित गैराकोचौतरा नजिकै बिहान करिब २:१० बजे बिएए १५८२ नम्बरको कार अचानक अनियन्त्रित भई तालमा खसेको थियो।

 

दुर्घटनामा स्याङ्जाको फेदीखोला गाउँपालिका-५ घर भई हाल पोखरा-७ मासबार बस्दै आएका २४ वर्षीय अदित गुरुङको ज्यान गएको हो। घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणबाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वसन्तबहादुर सिंहको कमान्डमा २१ जनाको गोताखोरसहितको टोली तत्काल घटनास्थल पुगेको थियो।

गोताखोर टोलीले गुरुङलाई अचेत अवस्थामा तालबाट उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएको थियो।उपचारका क्रममा बिहान ४:३४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

डुबेको कारलाई क्रेनको सहायताले तालबाट बाहिर निकालिएको छ। घटनाबारे थप अनुसन्धानका लागि कारलाई वडा प्रहरी कार्यालय बैदाममा लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

 

 

कमेन्ट गर्नुहोस्
Share: