
पोखरा । गण्डकी प्रदेशका विभिन्न राजमार्ग र जिल्लामा माघ महिनाभर भएका सवारी दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार एक महिनामा ४६ वटा दुर्घटना हुँदा ६३ सवारी साधन संलग्न भएका थिए।
दुर्घटनामा ११ पुरुष, ५ महिला, ३ बालक र २ बालिका गरी २१ जनाको मृत्यु भएको छ भने ५९ जना घाइते भएका छन्। घाइतेमध्ये ४७ जनाको अवस्था गम्भीर र १२ जनाको सामान्य रहेको छ। प्रहरीले ४६ जनाको उद्धार गरेको जनाएको छ।
कार्यालयका अनुसार ३५ वटा दुर्घटना चालकको लापरबाहीका कारण भएका हुन्। तीव्र गति र मादक पदार्थ सेवन प्रमुख कारणका रूपमा देखिएका छन्। यसबाहेक यान्त्रिक गडबडीबाट ३, हतारमा बाटो काट्दा १ र सडक अवस्था तथा मौसमका कारण २ दुर्घटना भएको तथ्यांक छ।
ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार ६ सय ४६ सवारी साधनलाई कारबाही गर्दै १ करोड ११ लाख ६५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको सूचना अधिकारी तथा डीएसपी गोपीकृष्ण सुवेदीले जानकारी दिए।
यस अवधिमा ३ हजार ८७ सवारी साधनको विशेष चेकजाँच र १५ पटक राजमार्ग गस्ती गरिएको थियो। प्रहरीले २ हजार ४ सय ६२ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरी ९४ हजार ९ सय ३१ जनालाई लाभान्वित गराएको जनाएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भर्ना भएका १ हजार ४४ जना निर्वाचन प्रहरीलाई पनि ट्राफिक सचेतना कक्षा प्रदान गरिएको छ।
यस्तै, पोखरा-१३ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने ४ जनालाई पक्राउ गरी कारबाही गरिएको छ। दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पट म्यापिङ’ गरी पाँचभन्दा बढी दुर्घटना भएका स्थानमा सूचनामूलक बोर्ड राखिएको कार्यालयले जनाएको छ। प्रहरी कर्मचारीको मनोबल अभिवृद्धिका लागि ‘टी विथ द टिम’ र ‘नेचर वाक’ जस्ता कार्यक्रम समेत सञ्चालन गरिएको छ।
