
पोखरा । पोखरा महानगरपालिका-४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले आफ्नो वार्षिक कार्यतालिकाअनुसार चौथो अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ।
विद्यार्थीहरूको सामान्य ज्ञान अभिवृद्धि गर्नुका साथै विद्यालयहरूबीच आपसी भाइचाराको सम्बन्ध मजबुत बनाउने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगितामा यसपटक पोखराका विभिन्न प्रतिष्ठित विद्यालयहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा न्यू मोडेल माध्यमिक विद्यालयका एन्जी पोख्रेल, प्रमिशा केसी र आयुष पोख्रेलको समूह प्रथम भई नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे।
द्वितीय स्थान ग्लोबल कलिजियट स्कुलका आर्या हमाल, प्रणव मोहन भट्टाराई र अपेक्षा पोख्रेलको समूहले हासिल गर्दै नगद १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे।
तृतीय स्थान शिशु निकेतन माध्यमिक विद्यालयका प्रशान्त ढुङ्गाना, सम्बोध ढक्वा र आयुष्मा पौडेलको समूहले प्राप्त गर्दै नगद ५ हजार, मेडल र प्रमाणपत्र जिते।
आयोजक कुमुदिनी होम्सका सक्षम गैह्रे, रिवाज लामिछाने र एन्जिला गुरुङको समूह चौथो भई नगद ३ हजार रुपैयाँ र प्रमाणपत्रबाट सम्मानित भए।
कार्यक्रममा अभिशेक विश्वकर्मा क्वीज मास्टरको भूमिकामा रहेका थिए भने शिक्षक सन्तोष ढकाल र भुवन गुरुङले प्राविधिक संयोजन सम्हालेका थिए।
पुरस्कार वितरण समारोह अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षक सुरेन्द्र सदिच्छाले गरेका थिए।
प्रतिस्पर्धाले विद्यार्थीहरूमा ज्ञानप्रति रुचि बढाउँदै स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ।

