
पोखरा । गण्डकी प्रदेशमा पहिलोपटक बीएस सिक्स (युरो सिक्स) मापदण्डको भोल्भो आइसर लक्जरी बस भित्रिएको छ। अटोवेज प्राइभेट लिमिटेडले उक्त आधुनिक बस स्विफ्ट होलिडेज प्राइभेट लिमिटेडलाई हस्तान्तरण गरेको हो।
अटोवेजका अध्यक्ष नारायण पौडेलले स्विफ्ट होलिडेजका प्रबन्ध निर्देशक मिलन नेपाललाई बसको साँचो हस्तान्तरण गर्दै युरो सिक्स मापदण्डका सवारी साधनले वातावरणमैत्री यातायात प्रणालीतर्फ महत्वपूर्ण कदम प्रतिनिधित्व गर्ने बताए। कम उत्सर्जन, उन्नत इन्जिन प्रविधि, इन्धन दक्षता र उच्च सुरक्षा सुविधासहितको यो बसले प्रदेशको पर्यटन तथा यातायात क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ।
स्विफ्ट होलिडेजले कम्पनीको आठौं वर्षको अवसर पारेर लक्जरी बस भित्र्याएको जनाएको छ। सन् २०१८ देखि काठमाडौं, पोखरा, चितवन र लुम्बिनीका प्रमुख पर्यटकीय गन्तव्यमा सेवा दिँदै आएको कम्पनीले हाल करिब ४० सवारी साधनको फ्लिट सञ्चालन गरिरहेको छ। यसअघि कम्पनीले टोयोटा कोस्टर र हायस, अशोक लेल्यान्ड तथा टाटा मोटर्सका सवारी साधन सञ्चालन गर्दै आएको थियो।
नयाँ भोल्भो आइसर बसमार्फत पोखरा-काठमाडौं तथा काठमाडौं-पोखरा रुटमा दिवा तथा रात्रीकालीन सेवा सञ्चालन गरिनेछ। हाल उक्त रुटमा ६ वटा बस सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। प्रतियात्रु भाडादर १ हजार २०० रुपैयाँ तोकिएको छ। अध्यक्ष पौडेलका अनुसार करिब १ करोड ३० लाख रुपैयाँ मूल्यको यो बस राज्यको नीतिअनुसार १० वर्षसम्म बिक्री गर्न नपाइने र ४० सिट क्षमतामा आधारित छ।
बतास कमर्सियल भेइकल्स प्रालिको अधिकृत विक्रेताका रूपमा गण्डकी प्रदेश, धौलागिरि क्षेत्र तथा चितवनमा कार्यरत अटोवेजले आधुनिक, सुरक्षित र दिगो सवारी साधन भित्र्याउने प्रतिबद्धता दोहोर्याएको छ। उन्नत प्रविधि र उत्कृष्ट सुरक्षा फिचरका कारण यो बस प्रदेशको पर्यटन क्षेत्रमा कोसेढुंगा सावित हुने विश्वास गरिएको छ।


