
पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ८ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा चुनावी तयारी तीव्र पारिएको छ। सुरक्षादेखि व्यवस्थापकीय प्रबन्धसम्मका कामलाई गति दिइएको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ।
प्रदेशका ११ वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुगिसकेको र सम्बन्धित जिल्ला निर्वाचन कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तिम तयारीमा जुटेको सूचना अधिकारी रुद्रनाथ न्यौपानेले जानकारी दिए।
मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित कर्मचारी व्यवस्थापन र खटनपटन भइरहेको छ भने केही जिल्लामा तालिम सम्पन्न भइसकेको र अन्यत्र सञ्चालनको तयारी भइरहेको छ।
बागलुङ जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञप्रसाद रिजालका अनुसार बागलुङमा चुनावको करिब ९० प्रतिशत तयारी पूरा भएको छ। फागुन १८ गतेसम्म कर्मचारी मतदानस्थलमा पुग्नेछन्। प्रदेशभर करिब १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने जनाइएको छ।
मतदाता शिक्षा र सुरक्षा योजना लागू
बदर मत घटाउने उद्देश्यले प्रत्येक वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा सञ्चालन गरिएको छ। निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन एकीकृत निर्वाचन सुरक्षा योजना लागू गरिएको छ। कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य वर्गमा विभाजन गरी सुरक्षा रणनीति तयार गरिएको छ।
सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग परिचालित छन्। नेपाल प्रहरीले भित्री घेरा, सशस्त्र प्रहरीले दोस्रो घेरा र नेपाली सेनाले बाहिरी घेराबाट सुरक्षा दिने व्यवस्था मिलाइएको छ।
मतदाता संख्या बढ्यो
प्रदेशभर १ हजार २९७ मतदानस्थल र २ हजार ३९६ मतदान केन्द्र छन्। कुल मतदाता संख्या १८ लाख ७० हजार ६५ पुगेको छ। २०७९ सालको निर्वाचनमा १६ लाख ६२ हजार २४६ मतदाता रहेकोमा यसपटक २ लाख ७ हजार ८१९ नयाँ मतदाता थपिएका छन्। गण्डकीमा १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्।
निर्वाचनको मिति नजिकिँदै जाँदा प्रशासनिक, प्राविधिक र सुरक्षा तयारीलाई तीव्र पारिएको छ भने मतदाता शिक्षामार्फत सचेत सहभागिता बढाउने प्रयाससमेत जारी रहेको छ।
