
पोखरा । पोखरा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाश केसीले पोखराको लेकसाइडमा आयोजित दोस्रो ‘वाडा अटो शो’को उद्घाटन गरेका छन् । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसन (वाडा) को आयोजना र नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको प्रस्तुतिमा सुरु भएको मेला चैत १५ गतेसम्म सञ्चालन हुनेछ। अटो शोमा नवीनतम् प्रविधि र आधुनिक सवारीसाधनहरूको आकर्षक प्रदर्शन गरिएको छ। वाडाका अध्यक्ष दीपेन्द्र कोइराला ले व्यवसायीहरूलाई एउटै छानामुनि ल्याई व्यावसायिक वातावरण सहज बनाउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु मेलाको मुख्य उद्देश्य रहेको बताए ।
कुल २० वटा स्टलहरू रहेका छन् जहाँ १६ वटा ब्रान्डका चार पांग्रे, ६ वटा ब्रान्डका लाइट कमर्सियल, १० वटा ब्रान्डका दुई पांग्रे र एउटा हेभी कमर्सियल सवारीसाधन प्रदर्शनीमा छन् । मेलामा एम्पिएर, एथर, एक्वेल, बीवाइडी, चेरी, वान्डा, चेतक, दिपाल, डोङफेङ, फर्थिङ, ग्वारो, हुन्डाई, कामा, किया, लिप मोटर, म्याक्सस, एसएमएल इसुजु, सुजुकी, टाटा, टिभीएस, एक्सप्रेस-टी, यामाहा र जोन्टेस लगायतका प्रख्यात ब्रान्डका सवारीसाधन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।
अटो शोको विशेष आकर्षणका रूपमा विन्टेज कार प्रदर्शनी पनि राखिएको छ, जहाँ करिब ४० वर्ष पुराना गाडीहरू प्रदर्शन गरिएको छ। यसमा आनन्दराज बतास को विशेष सहयोग रहेको छ। साथै अत्याधुनिक अटोमोबाइल प्रविधिहरू पनि दर्शकका लागि प्रस्तुत गरिएको छ। कार्यक्रम संयोजक शिव श्रेष्ठ का अनुसार प्रदर्शनीमा नयाँ प्रविधिको प्रभावशाली प्रस्तुति गरिएको छ।
मेलामा सहभागी कम्पनीहरूले ग्राहकका लागि ५० हजारदेखि १ लाख रुपैयाँसम्म विशेष छुट, बिमा तथा एसेसरिजमा अफर उपलब्ध गराएका छन्। करिब ४५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। पछिल्लो समय पेट्रोल-डिजेलभन्दा विद्युतीय सवारीसाधनतर्फ उपभोक्ताको आकर्षण बढ्दै गएको आयोजकले बताएका छन्।
यसैबीच एलिट मोटर्स ले ‘जेको जे-६ टी’ सार्वजनिक गरेको छ, जसको सुरुवाती मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। शक्तिशाली मोटर र ४३१ किलोमिटर रेन्ज क्षमतासहित आएको यो गाडीप्रति अटोप्रेमीको विशेष चासो देखिएको छ। त्यस्तै, सीजी मोटोकर्प ले आफ्नो पहिलो प्रिमियम विद्युतीय गाडी ‘सुजुकी ई-भिटारा’को बुकिङ खुला गरेको छ। ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको यो गाडी अत्याधुनिक सुरक्षा र सुविधा सहित प्रस्तुत गरिएको छ।
