
पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले धनुष बचत तथा ऋण सहकारी संस्था लिमिटेड का पीडित बचतकर्तालाई प्रमाणसहित जाहेरी दर्ता गर्न आह्वान गरेको छ। सहकारीका सञ्चालक तथा पदाधिकारीमाथि निक्षेपकर्ताको रकम फिर्ता नगरी हिनामिना र ठगी गरेको आरोपपछि प्रहरीले चैत २५ गतेभित्र सम्पर्क गर्न सूचना जारी गरेको हो।
पोखरा महानगरपालिका-९, सामसुङ गल्लीमा सञ्चालनमा रहेको उक्त सहकारीका व्यवस्थापक र पूर्व तथा वर्तमान सञ्चालकहरूले बचतकर्ताको रकम फिर्ता नगरेको उजुरीका आधारमा अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ। सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश बाट प्राप्त प्रतिवेदनपछि सहकारी ऐन २०७४ अनुसार छानबिन तीव्र पारिएको हो।
प्रहरीले बचतकर्तालाई आफ्नो रकम दाबी गर्न सेयर प्रमाणपत्र, पासबुक, भौचर, बैंक स्टेटमेन्ट वा मुद्दती प्रमाणपत्रसहित उपस्थित हुन आग्रह गरेको छ। साथै नागरिकताको प्रतिलिपिसहित ‘सहकारी ठगी’ शीर्षकमा जाहेरी दिनुपर्ने बताइएको छ।
मुद्दाको हदम्यादलाई ध्यानमा राख्दै समयमै उजुरी दिनुपर्नेमा जोड दिँदै प्रहरीले ढिलाइ नगर्न चेतावनी दिएको छ। यसैबीच सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीहरूलाई पनि तत्काल सम्पर्कमा आउन निर्देशन दिइएको छ। तोकिएको अवधिमा ऋण चुक्ता नगरे कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ।
यस प्रकरणमा १२ करोड ५६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा सहकारीका सचिव विराज सुवेदी, व्यवस्थापक जगत पौडेल र ऋण उपसमितिका सदस्य कृष्णबहादुर जैसी रहेका छन्।

