१५ दिनमै एसईई नतिजा: परीक्षा केन्द्रमै जाँच गर्ने सरकारको नयाँ योजना

Share:

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारको कडा निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब १५ दिनभित्रै सार्वजनिक गर्ने गरी नयाँ कार्यविधि तयार गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत आएको निर्देशनपछि बोर्डले परीक्षा प्रणालीमै आमूल परिवर्तन गर्ने तयारी गरेको हो। प्रस्तावित कार्यविधिअनुसार अब परीक्षा सम्पन्न भएकै दिन परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिनेछ। केन्द्राध्यक्ष, सुरक्षाकर्मी र सीसीटिभीको निगरानीमा हुने यो प्रक्रिया मार्फत नतिजा प्रकाशनलाई तीव्र बनाउने लक्ष्य राखिएको छ।

नयाँ व्यवस्थाअनुसार परीक्षा सकिएको दिनमै उत्तरपुस्तिका जाँच, सोही दिन अंक सिलबन्दी गरी जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा पठाइने, इकाइले डिजिटल प्रणालीमा नतिजा प्रविष्ट गर्ने तथा तयार भएसँगै प्रदेशअनुसार क्रमशः नतिजा सार्वजनिक गरिनेछ।

यसले हालसम्म देशभरको नतिजा एकैपटक सार्वजनिक गर्ने परम्परालाई तोड्नेछ। अब जुन प्रदेशको नतिजा पहिला तयार हुन्छ, त्यहीँबाट प्रकाशन सुरु गरिनेछ। यसले नतिजा प्रतीक्षामा बसेका विद्यार्थीलाई छिटो जानकारी दिने अपेक्षा गरिएको छ।

नतिजा सार्वजनिक भएपछि उत्तरपुस्तिका प्रदेश कार्यालयमा पठाइने पुनर्योग, पुनःजाँच लगायतका प्रक्रिया त्यहीँबाट सञ्चालन हुनेछ।

प्राविधिक धारका विद्यार्थीहरूको OJT (On-the-Job Training) अंक व्यवस्थापन कसरी गर्ने भन्ने विषय भने कार्यविधिमा अझै स्पष्ट छैन। बोर्डले यसबारे छुट्टै निर्णय गर्ने जनाएको छ। नतिजा प्रकाशनलाई १५ दिनभित्र सीमित गर्ने प्रधानमन्त्रीको अडानपछि बोर्ड र मन्त्रालयका कर्मचारीहरू दबाबमा परेका छन्। मन्त्रालयका अधिकारीहरूले यसअघि कम्तीमा दुई महिना लाग्ने बताएका थिए, तर अब समयसीमा निकै घटाइएको छ। यस वर्षको एसईई परीक्षा चैत १९ गतेबाट सुरु हुँदैछ।

कमेन्ट गर्नुहोस्
Share: