
पोखरा । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको १४ औं संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’को तयारी पूरा भएको छ। आगामी चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म सञ्चालन हुने यस महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम छ।
महोत्सव मूल आयोजक समितिका संयोजक एवं विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठका अनुसार महोत्सव सुरु हुनुअघि हेमजास्थित विष्णुपादुका माईस्थानबाट बाजागाजासहित सांस्कृतिक झाँकी र र्याली निकालिनेछ। उक्त र्याली मिलनचोक र साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदानमा प्रवेश गरेपछि औपचारिक कार्यक्रम सुरु हुनेछ।
महोत्सवलाई थप रोचक बनाउन आलुको ठूलो पहाड निर्माण गरिनेछ। महोत्सवका मुख्य आकर्षणहरू आलुका परिकारको १ स्टल, ३० वटा कृषि स्टल र १०० वटा व्यापारिक स्टलहरू रहनेछन्। महोत्सवमा प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोबार हुनेछ। कृषकहरूका लागि माटो परीक्षण, बोटबिरुवाको रोग निदान तथा प्राविधिक परामर्श सेवा उपलब्ध गराइनेछ।
प्रतियोगिता र मनोरञ्जन: कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति र कृषि यन्त्रहरूको प्रदर्शनी। महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीहरूलाई परिचयपत्रका आधारमा ५० रुपैयाँ टिकट तोकिएको छ।
हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ सय ९० हेक्टरमा आलु खेती हुँदै आएको छ। यहाँका करिब २ हजार घरपरिवार यस खेतीमा संलग्न छन् भने १ हजार ५० कृषकले व्यावसायिक रूपमा आलु खेती गरिरहेका छन्। प्रतिरोपनी औसत १८ हजार ५ सय ९७ रुपैयाँ लागत पर्ने यहाँको आलु खेतीबाट औसत ७ सय ९ केजी उत्पादन हुने गरेको तथ्यांक छ।
विगतका वर्षहरूमा झैँ यसपटक पनि “आलु एक, परिकार अनेक” भन्ने अवधारणालाई महोत्सवले व्यापक रूपमा प्रवद्र्धन गर्ने आयोजक विष्णुपादुका क्लवले जनाएको छ।
