पोखरा सबैको ‘दोस्रो घर’ हो, यहाँ कोही पनि अतिथि हुँदैनः पर्यटन मन्त्री पौडेल

Share:

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले पोखरालाई ‘सबैको दोस्रो घर’ को संज्ञा दिँदै यसलाई देश तथा विदेशका पर्यटकका लागि आत्मीय आतिथ्य र गन्तव्यको मुख्य केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य संस्कार अनुपम रहेको उल्लेख गरे ।

पोखरामा आउने कुनै पनि आगन्तुकलाई केवल पर्यटक वा अतिथिका रूपमा नभई परिवारकै सदस्यका रूपमा व्यवहार गर्ने संस्कार विकास भएकाले यहाँको पर्यटन क्षेत्र थप सुदृढ र आकर्षक बनेको उनको भनाइ थियो ।

“पोखरामा कोही पनि अतिथि हुँदैन, सबै परिवारका सदस्य हुन् । पोखरा सबैको दोस्रो घर हो,“ उनले भने । मन्त्री पौडेलले विगतमा पर्यटन क्षेत्र निजी क्षेत्रको एकल प्रयास र छरपस्ट विकासमा मात्र निर्भर रहेको स्वीकार गर्दै अब सरकारले दीर्घकालीन दृष्टिकोण र स्पष्ट नीतिका आधारमा योजनाबद्ध रूपमा काम अघि बढाएको जानकारी दिए ।

सरकारले हिमाल, साहसिक पर्यटन, आध्यात्मिक पर्यटन, योग–ध्यान, अवकाश (रिटायर्ड लाइफ) पर्यटन तथा आरोग्य पर्यटनलाई प्रमुख आधारका रूपमा विकास गर्ने नीति लिएको उनले स्पष्ट पारे ।

नेपाल योग र ध्यानको ऐतिहासिक उद्गमस्थल तथा बुद्धको जन्मभूमि भएकाले आध्यात्मिक पर्यटनको प्रचुर सम्भावना रहेको औंल्याउँदै मन्त्री पौडेलले भने, “सरकारले आगामी १० वर्षे आरोग्य पर्यटन रणनीति तयार गर्दैछ र आगामी वर्षलाई ‘आरोग्य वर्ष’का रूपमा मनाउने योजना अघि सारेको छ ।“ यसले स्वास्थ्य, योग र मानसिक सन्तुलनसँग सम्बन्धित पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, निश्चित खर्च गरेर जीवनको उत्तरार्धमा शान्त वातावरणमा बस्न चाहने विदेशी नागरिकका लागि ’अवकाश पर्यटन’को अवधारणा ल्याएर नेपाललाई आकर्षक गन्तव्य बनाउने सरकारी योजना रहेको उनले सुनाए ।

पर्यटन मन्त्रालयको बजेट सीमित भए पनि सरकारका सबै मन्त्रालयका कार्यक्रमहरूलाई पर्यटनसँग जोड्ने प्रयास गरिएको मन्त्री पौडेलले बताए ।

खेलकुद, भौतिक पूर्वाधार, संस्कृति र अन्य विकास गतिविधिलाई समेत पर्यटन प्रवद्र्धनसँग समन्वय गरेर बहुआयामिक रूपमा अघि बढाइएको उनको दाबी थियो ।

पोखरालाई नेपालको पर्यटन राजधानीका रूपमा अझ व्यवस्थित र योजनाबद्ध रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उहाँले दोहो¥याए ।

सम्बोधनका क्रममा मन्त्री पौडेलले राजनीतिक प्रतिस्पर्धालाई पनि सभ्य र मित्रवत् रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक संस्कारलाई बलियो बनाउन सबै राजनीतिक दल र पक्ष जिम्मेवार हुनुपर्ने धारणा समेत राखे ।

कमेन्ट गर्नुहोस्
Share: