
काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सोमबार काठमाडौंको होटल मेरियटमा आयोजित विशेष कार्यक्रममा दुवै संस्थाले ‘स्टडी इन नेपाल’ अभियानलाई संयुक्त रूपमा अघि बढाउने, विदेशी विद्यार्थी आकर्षित गर्ने तथा नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
समझदारीपत्रमा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रु) र आइप्यानका अध्यक्ष लक्ष्मण के.सी. ले हस्ताक्षर गरेका छन्। सम्झौतापछि इक्यानका सदस्य शैक्षिक परामर्श संस्थाहरूले आइप्यानसँग आबद्ध कलेज तथा शिक्षण संस्थाहरूका शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, छात्रवृत्ति, अध्ययन अवसर र करियर सम्भावनाबारे प्रत्यक्ष तथा आधिकारिक जानकारी प्राप्त गर्नेछन्।
यसबाट विद्यार्थी र अभिभावकले तथ्यपरक, अद्यावधिक र गुणस्तरीय शैक्षिक परामर्श सेवा पाउने अपेक्षा गरिएको छ। दुवै संस्थाले नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइको अध्ययन गन्तव्य बनाउन शैक्षिक ब्रान्डिङ, अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना, अनुसन्धान, शैक्षिक कूटनीति, क्षमता अभिवृद्धि, नीति संवाद, बी–टु–बी नेटवर्किङ तथा अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनलगायतका कार्यक्रम संयुक्त रूपमा सञ्चालन गर्ने सहमति गरेका छन्।
समझदारीअनुसार आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा अवसरबाट वञ्चित विद्यार्थीका लागि आइप्यान सदस्य संस्थाहरूमा छात्रवृत्ति र विशेष अध्ययन अवसरसमेत उपलब्ध गराइनेछ। कार्यक्रममा बोल्दै इक्यानका निवर्तमान अध्यक्ष शेषराज भट्टराई ले यो सहकार्यले नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। उनले इक्यानका सदस्य संस्थामार्फत नेपाली शिक्षालाई विश्वभर चिनाउन र नेपाली विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा लिन प्रोत्साहन गर्न सम्झौता प्रभावकारी हुने बताए।
आइप्यानकी महासचिव शैलजा अधिकारीले पनि सम्झौताले नेपालको शिक्षालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न ऐतिहासिक भूमिका खेल्ने बताइन्। विश्वस्तरको शिक्षा नेपालमै उपलब्ध गराउने आइप्यान सदस्य संस्थाहरूको प्रयासलाई यस सहकार्यले थप सशक्त बनाउने उनको भनाइ थियो।
दुवै संस्थाका नेतृत्वले यस सहकार्यले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र विद्यार्थीमैत्री बनाउने विश्वास व्यक्त गर्दै ‘स्टडी इन नेपाल’ अभियानलाई राष्ट्रिय अभियानका रूपमा सफल बनाउन सरकार, विश्वविद्यालय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
