ग्यास लिन नागरिकता बोकेर घण्टौँलाइनमा बस्न सर्वसाधारण बाध्य

Share:

काठमाडौं। खाना पकाउने एलपी ग्यास खरिदका लागि सर्वसाधारण नागरिकता बोकेर घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्। सरकारले ग्यास किन्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचयपत्र अनिवार्य गरेपछि शनिबार बिहानैदेखि सर्वसाधारण नागरिकता बोकेर लाइनमा बसिरहेका छन्।

नेपाल आयल निगमले काठमाडौं जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा शनिबारदेखि पाँच वटा तोकिएका स्थानबाट ग्यास बिक्री खुला गरेको हो। टेकुस्थित आयल निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर, वसुन्धरास्थित राधास्वामी परिसर र बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट फरक/फरक ब्रान्डका ग्यास बिक्री भइरहेको छ।

निगमका कर्मचारी भीमप्रसाद पौडेलका अनुसार बबरमहल केन्द्रबाट मात्रै काठमाडौंका जुनसुकै क्षेत्रका उपभोक्ताले १० प्रकारका ग्यास लिन सक्ने व्यवस्था मिलाइएको छ भने त्यहाँ मात्रै एक हजारभन्दा बढी उपभोक्ता बिहानैदेखि लाइनमा बसेका छन्।

निगमले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री गर्ने योजना बनाएको छ। हालको ग्यास सङ्कटलाई ध्यानमा राख्दै डिपोहरूसँगको समन्वयमा सहजीकरण गरिएको र कालोबजारी तथा अनावश्यक भण्डारणविरुद्ध अनुगमन तीव्र पारिएको पौडेलले जानकारी दिएका छन्।

यद्यपि, सर्वसाधारणले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। लामो समय लाइन बसेर पालो आउँदा समेत वितरण केन्द्रमा ग्यास सिद्धिएर कुरेर बस्नुपरेको सेवाग्राहीको भनाइ छ।

आयल निगमले भने अत्यावश्यक परेका उपभोक्तालाई मात्र नागरिकता वा परिचयपत्र साथमा लिई तोकिएको समय र स्थानमा उपस्थित भई ग्यास खरिद गर्न पुनः आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: