साउन महिनाभरि कास्कीमा १६८ मुद्दा दर्ता, ठगी र लागूऔषध गिरोहसहित दर्जनौँ पक्राउ

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष २०८३/०८४ को साउन महिनामा सञ्चालित शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। प्रहरीले साउन महिनाभर १६८ वटा मुद्दा दर्ता गरी १८१ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर अपराधका २०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १३, आर्थिक अपराधका ५३ र अन्य प्रकृतिका ८२ वटा रहेका छन्।

यस्तै अदालतको फैसला कार्यान्वयनतर्फ फरार रहेका ६७ जना प्रतिवादी (५८ पुरुष र ९ महिला) लाई पक्राउ गरी ८ वर्ष ७ महिना ११ दिन कैद सजाय भुक्तानीका लागि पठाइएको छ भने ३७ लाख ९६ हजार पाँच सय रुपैयाँ २० बिगो तथा जरिवाना असुल गरिएको छ।

ठगी र लागूऔषध नियन्त्रणमा मुख्य सफलता

प्रहरीले साउन महिनामा ठूला ठगी र लागूऔषध कारोबारविरुद्ध कडा कारबाही चलाएको छ। पोखरा-५ प्रस्याङबाट एसिया र युरोपका विभिन्न देश घुमाउने तथा रोजगारीको प्रलोभन देखाई ३० भन्दा बढी व्यक्तिबाट ९ लाख ६५ हजार रुपैयाँ ठगी गर्ने भारतीय नागरिकसहितको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

यसैगरी, महिनाभर लागूऔषधका ११ वटा मुद्दा दर्ता गरी २ महिला र १८ पुरुष गरी २० जनालाई पक्राउ गरिएको छ। उनीहरूका साथबाट ठूलो परिमाणमा डाइजापाम, बुप्रिनोर्फिन, फेनारगन, १८९ ग्रामभन्दा बढी ब्राउनसुगर, १० किलो ४५० ग्राम गाँजा तथा १० हजारभन्दा बढी ट्यापेंटाडोल र ट्रामाडोल ट्याब्लेट बरामद गरिएको छ।

मानव बेचबिखनबाट ३ बालिकाको उद्धार, ५ महिला पक्राउ

पोखराका विभिन्न होटल तथा खाजाघरहरूमा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनैतिक कार्यमा लगाउने ५ जना महिला सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा-१८ चिसाखोला र वडा नं. ८ सुरिना खाजाघरबाट गरी कुल ३ जना बालिकाको सफल उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ।

सवारी कारबाही र राजस्व सङ्कलन

साउन महिनामा कास्कीमा ८ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु र ५ जना घाइते भएका छन्। तीव्र गति र मादक पदार्थ सेवन (मापसे) मुख्य दुर्घटनाको कारण रहेको पाइएको छ। प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ९४४ वटा सवारी साधनलाई कारबाही गरी ४८ लाख २ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यस्तै ’अपरेसन ३६५’ अन्तर्गत ७६ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ।

सामाजिक हिंसा र नागरिक सेवा

प्रहरीकहाँ साउन महिनामा सामाजिक हिंसासम्बन्धी १०० वटा ठाडो उजुरी र ३८ वटा घरेलु हिंसाका निवेदन परेका थिए, जसमध्ये अधिकांश निवेदन छलफल र मिलापत्रमार्फत फछ्र्यौट गरिएका छन्। यस्तै हराएका ६५ जनामध्ये ५६ जना (महिला २५, पुरुष ११, बालबालिका १६ र ज्येष्ठ नागरिक ४) फेला परेका छन्।

यस अवधिमा प्राकृतिक स्रोत दोहन गर्ने ९ वटा सवारी साधनलाई नियन्त्रणमा लिई रू. १ लाख ४१ हजार जरिवाना गराइएको छ भने अवैध ९ हजार ९१५ वटा गाँजाका बोटहरू फडानी गरी नष्ट गरिएको छ।

सुरक्षा र सांगठनिक नवीनता

शान्ति सुरक्षा कायम गर्न प्रहरीले मोटरसाइकल गस्ती, रातको समयमा अवाञ्छित गतिविधि नियन्त्रण गर्न ’स्वीप अपरेसन’ (२० जना नियन्त्रणमा) र समुदाय तथा विद्यालयकेन्द्रित १९३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ८ हजार भन्दा बढी नागरिकलाई प्रशिक्षित गराएको छ।

प्रहरी कर्मचारीको मनोबल उच्च राख्न कार्यालयमा निःशुल्क स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान, सामूहिक खाना कार्यक्रम, सामूहिक जन्मदिन उत्सव र साप्ताहिक टी विथ टिमजस्ता नवीन कार्यक्रमहरू पनि सञ्चालन गरिएको कास्की प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: