
पोखरा। नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदको निर्वाचनका क्रममा गम्भीर अनियमितता भएको भन्दै उम्मेदवार सुबास सिग्देलले निर्वाचन रद्द गरी पुनः मतदान गराउन माग गरेका छन्।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सिग्देलले मतदानका क्रममा ३२ भन्दा बढी मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नरहेको विषयमा ध्यानाकर्षण गराएका हुन्।
प्रचलित निर्वाचन नियमअनुसार हस्ताक्षर नभएका मतपत्र स्वतः अवैध हुने स्पष्ट व्यवस्था हुँदाहुँदै पार्टीका केन्द्रीय प्रवक्ता देवराज चालिसेले ती मतपत्रलाई मान्यता दिने निर्णय गरेको भन्दै उनले घोर विरोध र असहमति जनाएका छन्।
निर्वाचनको निष्पक्षता, पारदर्शिता र विश्वसनीयता लोकतन्त्रको मूल आधार भएको उल्लेख गर्दै सिग्देलले स्थापित विधिलाई बेवास्ता गरेर गरिएको निर्णयले निर्वाचन प्रक्रियामै प्रश्न उठाएको बताएका छन्।
उक्त निर्णयको पुनरावलोकन गरी लोकतान्त्रिक मूल्य, विधिको शासन र पार्टी विधानको रक्षाका लागि तत्काल पुनः निर्वाचनको घोषणा गर्न उनले जोडदार माग गरेका छन्।
