
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि आइतबार साँझसम्म परेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका कारण १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको बताएका छन्।
अविरल वर्षा, बाढी, पहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुईदिनभित्र गरिसकिने जनाएका छन्।
प्रधानमन्त्री ओलीले घाइतेहरुको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताए।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रेस विज्ञप्ति प्रस्तुत गरेका हुन्।
विपद्का कारण दुई सय २४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको विज्ञप्तिमा उल्लेख छ।
क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि मुख्यसचिव अर्यालले बताए। विपद्को घटनाबाट २१ जिल्ला बढी प्रभावित भएका छन्।




