
काठमाडौँ। पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको नवलपरासी पश्चिम खण्ड दाउन्नेमा बिहान ५ः१० बजेदेखि पूर्ण रूपमा अवरुद्ध छ। पहिरोका कारण बन्द भएर खुलेको केही बेरमै फेरि पहिरो जाँदा बिहानदेखि पूर्ण रूपमा यातायात बन्द भएको हो।
नवलपरासी पश्चिमकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठका अनुसार पुरानो ट्र्याकमा पहिरो झर्ने क्रम नरोकिएपछि नयाँ ट्र्याक खोल्ने काम थालिएको छ। यसका लागि अझै केही समय लाग्ने भएकोले राजमार्ग खुल्न अझै केही समय लाग्नेछ।
पहिरोका कारण काठमाडौँ र पूर्वबाट पश्चिमतिर गएका झन्डै सात सय गाडी दाउन्नेमा रोकिएर बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।
भासिएको सडकको मर्मतको काम भइरहेको छ। राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने जाने सवारी जाममा रोकिएका छन्। यसअघि असोज १४ गते पनि सोही स्थानमा सडक भासिएको थियो। लगातारको वर्षाले विभिन्न स्थानमा सडक चर्कीने र भासिने गरेको छ।
