
काठमाडौँ। त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारी जामको समस्या कम गर्न आजदेखि निर्माण सामग्री बोकेका ठूला मालवाहक सवारी राजधानी प्रवेशमा रोक लगाईएको छ।
हिन्दुहरुको महान् पर्व वडादसैँ सुरु भईसकेको संघीय राजधानी काठमाण्डौंबाट पर्व मनाउन राजधानीबाट बाहिरिने सवारीका साधनहरूको चाप अत्यधिक बढेको छ।
यात्राका क्रममा सवारी जामका कारण यात्रुहरूले सास्ती खेप्नु नपरोस भन्ने उद्देश्यले टेलर लगायतका सवारी राजधानी प्रवेशमा रोक लागाइएको हो।
यस वर्ष गत वर्षको दसैँमा भन्दा पृथ्वी राजमार्ग हुँदै राजधानी बाहिरिने र राजधानी भित्रने सवारीका साधनहरूको चाप दोब्बरले वृद्धि भएको छ।
बिपी राजमार्ग गत साताको बाढी र पहिरोका कारण बिग्रिएपछि पूर्वी नेपालको अधिकांश जिल्लाहरू र मधेस प्रदेश क्षेत्रमा जाने सवारीका साधनहरुले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ नै प्रयोग गरेका छन्।
विशेष गरी चितवनको नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलरसहितका ठूला सवारी सञ्चालनमा रोक लगाउने निर्णय यातायात व्यवस्था विभागले गरेसँगै स्थानीय प्रशासनले सोको कार्यान्वयन गरेको हो।
घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो। यात्रुवाहक गाडीलाई प्राथमिकता दिने गरी ठुला गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो।
औषधि र तरकारीलगायत दूध बोकेका बाहेक अन्य ठुला गाडी आउँदो कार्तिक १ गतेसम्म बन्द रहने छ।
