
काठमाडौं ९ असार-
मस्यौदा समिति अन्तर्गतको कार्यदलले तयार गरेको मस्यौदा आज मस्यौदा समितिको बैठकमा पेश हुँदैछ ।
कांग्रेसका कृष्णप्रसाद सिटौला सभापति रहेको मस्यौदा समितिले सिटौलाकै संयोजकत्वमा प्रारम्भिक मस्यौदा बनाउन कार्यदल गठन गरेको थियो ।
नयाँ संविधानमा ३५ भाग र तीन सय ११ धारा रहने गरी संविधानको प्रारम्भिक मस्यौदा तयार भएका छन् अहिले अन्तरिम संविधानमा भने २५ भाग र एक सय ६७ धारा छन् ।
समितिअन्तर्गतका पाँचवटा उपसमितिका प्रतिवेदनलाई एकीकृत गर्दै कार्यदलले मस्यौदाको काम गरेको हो । कार्यदलले विवादित विषयमा शीर्ष नेतृत्वसँग छलफल गरी टुंगो लगाउने निर्णय गरेको छ ।
बिहान कार्यदलको बैठक बसी सबै विवाद टुंग्याउने र दिउँसो मस्यौदा समितिको पूर्ण बैठकमा पेस गर्ने तयारी भइरहेको कांग्रेसका रमेश लेखकले जानकारी दिए ।
मस्यौदामा सबैभन्दा बढी ३२ वटा धारा मौलिक हकमा राखिएका छन् । अन्तरिम संविधानमा मौलिक हकअन्तर्गत २१ वटामात्र धारा थिए । संक्रमणकालीन व्यवस्थाअन्तर्गत सर्वोच्च अदालतका न्यायाधीश र संवैधानिक निकायका पदाधिकारीको पुनककनयुक्तिको व्यवस्था राख्ने वा नराख्ने भन्ने विषयमा मस्यौदामा टुंगो लाग्न बाँकी छ ।
