
पोखरा। नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवमा कलाकार समीक्षा अधिकारीलाई साथ दिएका छन्। बुधबार दिउँसैबाट दिन चिसो भइरहेको अवस्थामा साँझ स्टेजमा उक्लिएका समीक्षाले दर्शकलाई तताउने काम गरिन्।
महोत्सवको सांस्कृतिक कार्यक्रम सञ्चालन हुने स्थानभन्दा वरपर छरिएर रहेका दर्शकहरु कलाकार अधिकारी स्टेजमा उक्लिएपछि भने उनलाई हेर्न, सुन्न र साथ दिन स्टेज अगाडि नै पुगे। जब समीक्षा स्टेजमा उक्लिएर बालापन बोलको गीत गाउन थालिन् दर्शकहरु उनको अगाडि झुम्मिन थाले।
अधिकारीले सुर्ती माड्दा माड्दै बोलको गीत गाउने बेलासम्म दर्शकहरु स्टेज अगाडि पूरै रमाइलो मोडमा पुगिसकेका थिए। दर्शकहरुको मागलाई सम्बोधन गर्दै अधिकारीले दुई पटकसम्म सुर्ती माड्दा माड्दै बोलको गीत गाइन्। बुधबार साढे चार बजेपछि स्टेज उक्लिएकी अधिकारीले धनगढीको बसमा, बोक्सीको घर, कुरा बुझ्नुपर्छ, हावा चिसो चिसो,
नबोली नबोली लगायतका गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिइन्।
बुधबार अधिकारीसँगै कलाकार दीपक खड्का, जिबी सुनारलगायतका स्थानीय कलाकार र रत्ननगर कला केन्द्रको प्रस्तुती रहेको थियो। बिहीबार सांस्कृति कार्यक्रममा चर्चित गायिका रचना रिमाल, दीपक खड्का, सृष्टि पौडेलसहितका कलाकारहरुको प्रस्तुती रहने महोत्सवको सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालले जानकारी दिए।
बुधबार करिब १० हजार दर्शकले महोत्सवको अवलोकन गरेका महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग
वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचले बताए।
महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको अन्डरवाटर फिस टनेल समेत बुधबारबाट सञ्चालनमा आएको छ।महोत्सवमा नेपालमा नै पहिलो पटक अन्डरवाटर फिस टनेल’ राखिएको भन्दै भट्टचनले पानी भरिएको टनेलभित्र गएर माछा हेर्ने व्यवस्था गरिएको बताए। विदेशमा गएर हेर्न पाइने अन्डरवाटर फिस टनेलमा विभिन्न प्रकारका समुद्री माछाहरु राखिएका उनको भनाइ छ।
दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका भट्टचनले जानकारी दिए।
सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उनको दाबी छ। कात्तिक २६ गते सुरु भएको महोत्सव मङ्सिर १० गतेसम्म सञ्चालन हुनेछ।
एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले जानकारी दिए।रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइनेसमेत उनको भनाइ छ।



