
पोखरा। गण्डकी प्रदेश सभा सदस्य विमला गौचनलाई श्रद्धाञ्जली अर्पण गरिएको छ। शनिबार बिहान प्रदेश सभा भवन नदीपुरमा श्रद्धाञ्जलीका लागि गौचनको शव राखिएको हो।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय झण्डा ओढाए। गौचनको पार्थिव शरीरलाई श्रद्धाञ्जलि व्यक्त गर्न मुख्यमन्त्री पाण्डेसँगै मन्त्री, प्रदेश सभाका सदस्य, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता उपस्थित भएका थिए।
६३ वर्षीया गौचनको बुधबार राति १ बजेर ४५ मिनेटमा काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
उनी नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद भएकी हुन्। २०१८ मंसिर १८ गते मुस्ताङको थसाङ गाउँपालिकामा जन्मिएकी गौचन नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत हुन्।
उनी पर्यटन व्यवसायीसमेत थिइन्। गौचनका एक छोरा र छोरी छन्। गौचनको पार्थिव शरीरलाई म्याग्दी लगिएको छ भने उनको आजै अन्तिम संस्कार गरिने बताइएको छ।





