
पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ देउपुजेमा सुविधा सम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ। स्वीजरल्याण्डका किसानहरुको संस्था एहमान फाउण्डेसनको रु पाँच करोड आर्थिक सहयोगमा बनेको ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’ निर्माण गरिएको हो।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो केन्द्रको उद्घाटन गरेका हुन्। दाताहरुको सहयोगबाट बनेको उक्त सेवा केन्द्र भवन आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ।
सेवा केन्द्रको सञ्चालन अब प्रतिष्ठानले गर्ने प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्तराज दवाडीले बताए।सेवा केन्द्रका चार वटा भवन छन्। प्रतिष्ठानको पहलमा स्वीजरल्याण्डका दाताबाट सो सहयोग रकम प्राप्त भएको थियो।
सेवा केन्द्रमा ६५ वर्ष उमेर माथिका असहाय, गरीब तथा विपन्न नागरिकहरुलाई आवासीय सुविधा सहित राखिने प्रतिष्ठानका संस्थापक दवाडीले जानकारी दिए। सेवा केन्द्रमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै भवन छन्। त्यसैगरी एउटा कर्मचारी र किचन तथा अर्को भवनमा क्लिनिक तथा पाहुनाका लागि व्यवस्था गरिएको छ।
गरीब, विपन्न र असहायः वृद्धवृद्धाका लागि लक्ष्य राखिए पनि सेवा केन्द्रलाई आत्मनिर्भर बनाउनका लागि शुल्क तिरेर पनि वृद्धवृद्धा राख्न सकिने दवाडीको भनाइ छ। सेवा केन्द्र सञ्चालनका लागि सुरुवाती तीन वर्षको सम्पूर्ण खर्च इहमान फाउण्डेशनले नै बेर्होने बताइएको छ।
दवाडीले भने,“हामीले गरीव तथा असहाय र दिनदुखीका लागिनै आवासीय सेवा केन्द्र सञ्चालनमा ल्याएका हौँ। यसका साथै कसैले शुल्क तिरेर सेवा केन्द्रमा राख्न चाहनुहुन्छ, भने पनि राख्न सकिन्छ। सेवा केन्द्रलाई आत्मनिर्भर बनाउन यसबाट मद्धत पुग्नेछ। नहुनेलाई सहयोग गर्ने र पैसा हुनेले तिरेर बस्ने हो।”
सेवा केन्द्रमा आश्रित ज्येष्ठ नागरिकहरुलाई क्लिनिक र फार्मेसी सहितको नर्सिङ सेवा, परामर्श सुविधा, पुस्तकालयको सुविधा रहेको छ। यसैगरी, अडियो–भिजुअल ल्याब, योग र ध्यान कार्यक्रम तथा एकल, डबल वा साझा कोठा, स्नान गृहको व्यवस्था गरिएको प्रतिष्ठानका सचिव सुवासचन्द्र लम्सालले जानकारी दिए। उनका अनुसार अबको तीन महिनाभित्रमा सेवा केन्द्र पूर्ण रुपमा सञ्चालनमा आउनेछ।
“भवन पूर्ण रुपमा तयार भइसकेको छ। केहीमा झ्याल ढोकाको काम बाँकी छ भने किचनका सामानहरु किन्नुपर्ने र ज्येष्ठ नागरिक राख्नका लागि प्रक्रिया पूरा गर्दा सञ्चालनमा आउन तीन महिना समय लाग्छ,” लम्सालले भने। सेवा केन्द्र निर्माणका लागि नाना गुरुङ र मोहन गुरुङको स्मृतिमा उनका परिवारका कर्ण गुरुङ, दुर्गा गुरुङ, बर गुरुङ र छोरी शुकमाया गुरुङले ४ रोपनी जमिन दान गरेका थिए।
यस्तै, कार्यक्रममा जग्गादाता तथा एहमान फाउण्डेसनका प्रतिनिधि माथियाज मारिया डोल्डलाई सम्मान गरिएको थियो। कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष दिननाथ लम्साल, प्रमुख संरक्षक रविलाल पोखरेल, सल्लाहकार सूर्यप्रसाद लम्साल लगायतले सेवा केन्द्रबाट ज्येष्ठ नागरिकले लाभ लिने बताएका थिए।
आमा स्मृति प्रतिष्ठानले घाचोकमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गरिरहेको छ। जसमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म वृद्धवृद्धाहरु आएर बस्ने गरेका छन्।
